
बैंकिङ खबर/ चालु आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबार बढेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएपनि घरजग्गा कारोबार भने बढेको हो । तरलताको कारण कात्तिक महिनामा केही सुस्त भएको घरजग्गा कारोबार मंसिर र पुस महिनामा आएर पुनः बढेको छ ।
भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा १ लाख ५७ हजार १२७ वटा घरजग्गा खरिदबिक्री भएका छन् । विभागले पुस महिनामा ७० हजार १६८ लिखित पारित, ५ हजार ५५३ नामसारी, ४३ हजार ५३ घरजग्गा रोक्का र २३ हजार २ फुकुवा भएका छन् ।
गत मंसिर महनिामा ६९ हजार ४१२ लिखत पारित भएको विभागको भनाई छ । मंसिरमा ४१ हजार ७० घरजग्गा रोक्का भएका थिए भने २७ हजार ८५० घरजग्गा फुकुवा भएका थिए ।
पुस महिनामा सबैभन्दा बढी घरजग्गा कारोबार भूमी सुधार तथा मालपोत कार्यालय इनुरुवान सुनसरीले गरेको छ । यस कार्यालयले पुसमा ६ हजार २५७ घरजग्गा कारोबार गरेको छ । यस्तै पुस महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब ७० करोड ४२ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । मंसिरमा घरजग्गा कारोबारबाट कुल ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।