बैंकिङ खबर/ अग्रवाल परिवारका नौ जना सदस्य फरार भएपछि यतिबेला चार बैंकको ८० करोड जोखिममा परेको छ।
नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यवसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको हो ।
उनीहरुले काठमाडौं दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका थिए । यतिबेला ओमप्रकाश अग्रवाल परिवारका नौ सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको भन्दै मौखिक उजुरी प्रहरीमासमेत दिएकी छिन् ।
यी बैंकमा छ अग्रवाल परिवारको ऋण
अग्रवाल परिवार फरार भएसँगै उनीहरूले चारवटा बैंकबाट लिएको ८० करोडभन्दा बढी ऋण जोखिममा परेको छ। उनीहरुले एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक गरी चारवटा बैंकबाट मात्र ८० करोड रुपैयाँभन्दा बढी ऋण लिएको खुलासा भएको छ।
यता महानगरीय प्रहरी परिसर काठमाडौंले भने अग्रवाल परिवार सम्पर्कविहीन बनेको सूचना पाएसँगै प्रारम्भिक अनुसन्धान थालेको छ ।
अग्रवाल परिवारको पत्र ‘हाम्रो सम्पत्ति बाँडेर लिनुहोला’
महानगरीय प्रहरीवृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौंको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो। प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेला पारेको छ।
ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको उक्त पत्रमा बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नु परेको उल्लेख छ।
अभिषेकका बुबा ओमप्रकाश अग्रवालले छोराहरू अभिषेक र अमितले सञ्चालन गर्दै आएको ग्रीनलाइन सेन्टर प्रालि कोरोना संक्रमणपछि धरापमा परेको र त्यो सञ्चालन गर्न बैंक तथा अन्य विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा यो अवस्था भोग्नु परेको पत्रमा खुलाएका छन् ।
काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका अग्रवाल परिवार सम्पर्कविहीन हुँदा घरमा पत्र छोडेका थिए । पत्र अभिषेकका ७३ वर्षीय बुबा ओमप्रकाश अग्रवालले लेखेका छन् । उनले विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेकोसमेत पत्रमा खुलाएका छन् ।
‘हामीले ग्रीनलाइनबाट कमाएको नाफाले ब्याज तिर्दै आएका थियौँ । तर, २१ असोजमा बैंकहरूले ग्रीनलाइनलाई पनि ताल्चा लगाइदिएकाले हामीले मिटर ब्याजका लागि पैसा तिर्न सक्ने अवस्था रहेन,’ पत्रमा भनिएको छ।
आफूहरूको नाममा रहेको कम्पनी, बैंक तथा मिटर ब्याजमा दिनेहरूले कानुनी रूपमा बाँडेर लिन पनि अग्रवाल परिवारले भनेको छ। तर, उनीहरूको सम्पत्तिभन्दा बढी तिर्नुपर्ने ऋण देखिएको छ भने व्यक्तिगत ऋण पनि ठूलो मात्रामा भएका कारण डुब्ने खतरा देखिएको छ ।
ग्रीनलाइन सेन्टर नेपालमा महँगो विदेशी रक्सी बेच्ने कम्पनी हो । उक्त कम्पनीले एक बोतलकै ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत आयात गरेर बेच्ने गरेको थियो । २२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महँगो रक्सी बेच्ने कम्पनीमध्येको एक हो ।
अग्रवाल परिवारका सदस्यहरू २२ पुसदेखि बेपत्ता भएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट उनीहरूले करिब ३ अर्बभन्दा बढी रकम ऋण लिएर भागेको प्रहरीको अनुमान छ ।
पत्रमा ओमप्रकाश, उनकी पत्नी उषा, छोराहरू अभिषेक र अमितले हस्ताक्षर गरेको कागज भेटिएको छ । पत्रमा ‘मरिन्छ वा बाँचिन्छ’ भन्ने शब्द देखिएको र पत्र भावुक रहेकाले उनीहरू तनावमा रहेको बुझिन्छ। ‘साहुहरूको नाम तथा मिटर ब्याजीहरूले दिए गराएका कागजपत्र तथा तिनीहरूको नामावली थाहा पाई एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गराउने अवस्थामा पुर्याउन लगाएको मानिसहरूलाई दण्ड सजायँ दिइ मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौँ,’ पत्रमा उल्लेख छ। ओमप्रकाशकी छोरीले आमाबुबा तथा परिवारका सदस्यको खोजीका लागि प्रहरीमा निवेदन दिएकी छन्।
पहिला पनि भागेका थिए मारवाडी
नर्भिक अस्पतालमा कार्यरत डा. राजेन्द्र अग्रवाल ओमप्रकाश अग्रवालका भाइ हुन् । उनीहरु चार जना दाजुभाइ मध्ये रघुनाथ, ओमप्रकाश, राजेन्द्र र अर्का एक जना भने ३० औँ वर्ष पहिला बेपत्ता भएका थिए ।
कोरोनापछि धरासायी व्यवसायी
कोरोनाको लहरपछि नेपालमा ठूलाठूला व्यापार व्यवसायसमेत धरासायी बनेको अवस्था छ। अझै कोरोनाको तेस्रो लहर शुरु हुन लागेको छ।
अहिले यतिबेला व्यापार व्यवसाय कोरोनाको सन्त्रासमा छन् । ग्रीनलाइन सेन्टर प्रालि पनि कोरोना संक्रमणपछि धरापमा परेको र त्यो सञ्चालन गर्न बैंक तथा अन्य विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा यो अवस्था भोग्नु परेको पत्रमा खुलाएका छन् । यसरी कोरोनापछि धेरै व्यापार व्यवसाय कति डुबेका छन् भने कति डुब्ने अवस्थामा पुगेका छन्।
कतिपय बैंकले कम्पनीको कारोबारका आधारमा विनाधितो ऋण दिएका कारण सो कर्जा के हुने भन्ने अन्योल रहेको छ । कोभिड–१९ का कारण कारोबारमा समस्या देखाएका उनीहरूले कतिपय होटल र रेस्टुरेन्टबाट समेत रकम उठ्न बाँकी रहेको पत्रमा दाबी गरेका छन् ।