बीग मर्जरमा बीग प्रोब्लमः राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने


Bankingkhabar /January 14, 2022


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीका अनुसार राष्ट्र बैंकले कानून अनुसार कारबाही गर्ने भएको हो । हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको वार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो।

मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए।

हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए। राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।

हिमालयनले आफ्नो छुट्टै अस्तित्वलाई नै निरन्तरता दिने बताइएको छ। बैंकमा २० प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषसमेत नेपाल इन्भेस्टमेन्टसँगको मर्जरको विपक्षमा थियो। बैंकका पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठसमेत मर्जरविरुद्ध थिए।

मर्जर असफल भएसँगै राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार साधारणसभाले पारित गरेको लाभांश हिमालयन बैंकका सेयरधनीले अब पाउने छैनन् ।

यसबाहेक हिमालयन बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति नदिने तथा राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा हिमालयन बैंकले पाउने छैन । यसको अर्थ हिमालयन बैंकले पुनरकर्जा,एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन ।

राष्ट्र बैंकले हिमालयनका सञ्चाललाई समेत समेत गराउने छ । गत बैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा हुने छैन ।

हिमालयन बैंकले कारवाहीबाट बच्नका लागि अर्को वाणिज्य बैंकसँग मर्जर गर्नुपर्ने छ ।

गत बैशाखमा मर्जरमा जाने सैद्दान्तिक समझदारी गरेका हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर १० महिनापछि आएर भाँडिएको हो ।


सोसिअल मेडिया