
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाहरुले संकटका बेला बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।काठमाडौंमा सोमबार बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले संकटका बेला बढी नाफामुखी हुन नहुने बताए । उनले बैंक वित्तले संकटका बेला उद्योगधन्दा, जनता र बैंक आफैपनि पनि बचाउनुपर्छ भन्ने भावना हुनुपर्ने बताए ।
संकटका बेला मिलेर एकले अर्कालाई बचाउनेतर्फ लाग्नुपर्ने उनले बताए । संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा शर्माले जोड दिए। बैंक तथा वित्तीय संस्थाहरुले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने पनि अर्थमन्त्री शर्माले बताए। ‘मुलुकको ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान छ’, उनले भने।
मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे। कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको उल्लेख गर्दै ती मुलुकमा शाखा खोल्न आग्रह गरेका हुन्। त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको विश्वास छ।