
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशत भन्दा धेरै ‘क्रस होल्डिङ’ भएका लघुवित्तलाई मर्जरमा जान निर्देशन दिएसँगै लघुवित्तहरुमा मर्जरको दवाव परेको छ ।
राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै त्यस्ता लघुवित्तको कार्ययोजना माग समेत गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ को निर्देशन नम्बर १० मा बुँदा नम्बर १५ मा थप गरि यस्तो निर्देशन दिएको हो । उक्त बुँदामा थप गर्ने क्रममा राष्ट्र बैंकले ‘इजाजतपत्र ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको संस्थाहरु बीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ’ भनि थप गरेको छ । यो व्यवस्था थप भएसँगै क्रस होल्डिङ्स भएका लघुवित्तले आउँदो असार मसान्तभित्रमा मर्जरमा जाने योजना बनाउनुपर्ने भएको छ ।
दर्जन बैंकलाई कार्ययोजना बनाउन बाध्य
राष्ट्र बैंकको यो नीतिले १ दर्जन बैंकलाई उक्त कार्ययोजना बनाउन बाध्य बनाउने भएको छ । यस नीतिले नबिल बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू, मेगा, प्राइम, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले लगानी गरेर खोलेका माइक्रोफाइनान्सलाई फोर्स मर्जरमा जानुपर्ने बाध्य बनाएको हो ।यसरी ति संस्थाले खोलेका माइक्रो फाइनान्स मर्जमा नगएमा ति संस्थाले माइक्रोफाइनान्समा गरेको लगानी निकाल्नुपर्ने छ ।
कुन बैंकको लघुवित्तमा कति लगानी ?
नबिल बैंकको नाडेप लघुवित्तमा २५ प्रतिशत, छिमेक लघुवित्तमा ११.९८, स्वाबलम्बन लघुवित्तमा १२.०२ प्रतिशत लगानी रहेको छ ।
यस्तै ग्लोबल आइएमई बैंकको ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फस्ट माइक्रोफाइनान्समा ११, मेरो माइक्रोफाइनान्समा १४ र स्पर्श लघुवित्त वित्तीय संस्थामा १६ प्रतिशत लगानी रहेको छ ।
लक्ष्मी बैंकको भने लक्ष्मी लघुवित्तमा ७० प्रतिशत लगानी रहेको छ । कुमारी बैंकको पनि एउटा मात्रै लघुवित्तमा १० प्रतिशत भन्दा बढी लगानी रहेको छ । कुमारीको नेशनल माइक्रोफाइनान्समा २० प्रतिशत लगानी रहेको छ । एनआईसी एसिया बैंकको एनआईसी एसिया लघुवित्तमा ६८ प्रतिशत, कृषि विकास बैंकको साना किसान बैंकमा २२ प्रतिशत र लुम्बिनी विकास बैंकको नाडेप लघुवित्तमा १० प्रतिशत लगानी रहेको छ ।
बैंक अफ काठमाण्डूको आरएसडिसी लघुवित्तमा १२ प्रतिशत, मेगा बैंकको स्पर्श लघुवित्त वित्तीय संस्थामा १६.३९, अभियान लघुवित्तमा १६.३९, प्रतिशत, प्राइम बैंकको महिला सहयात्रा लघुवित्तमा १२.७३ प्रतिशत, स्वाभिमान लघुवित्तमा १४.५५ प्रतिशत लगानी रहेको छ ।
यस्तै हिमालयन बैंकको स्वाबलम्बन लघुवित्तमा १२.२ र छिमेक लघुवित्तमा ११.९८ प्रतिशत लगानी रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि स्वाबलम्बनमा १२.२ र नेशनल माइक्रोफाइनान्समा २५ प्रतिशत लगानी रहेको छ ।
माइक्रोफाइनान्स एशोसिएसन अफ नेपालका अध्यक्ष जगत पोखरेल नेपाल राष्ट्र बैंकले हालै ल्याएको नीति सबैले मान्नु पर्ने बताउँछन् । माइक्रोफाइनान्स कम्पनीहरुले पनि सोही अनुसार काम गर्ने उनको भनाइ छ ।
मौद्रिक नीतिमै लघुवित्तको संख्या घटाउने रणनीति
राष्ट्र बैंकले मौद्रिक नीतिमै लघुवित्तको संख्या घटाउने रणनीति ल्याएको थियो । मौद्रिक नीतिमा थोक तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर गर्न सक्ने व्यवस्था गरिएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको दोहोरो लगानी क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एकआपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरिनेछ । मौद्रिक नीतिमा भएका व्यवस्थाले लघुवित्तको संख्या घटाउनु मुख्य उद्देश्य रहेको जानकारहरू बताउँछन् । नेपालमा हाल ७२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् ।
मौद्रिक नीतिमा भनिएको छ,‘ ‘लघुवित्त वित्तीय संस्थाहरूले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिका रूपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ ।’ मौद्रिक नीतिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरिनेछ भनिएको छ ।
मर्जरपछिका केहि सफलता
उन्नति माइक्रोफाइनान्स र सहकार्य माइक्रोफाइनान्सको मर्जरपछि उन्नती सहकार्य लघुवित्तको नामबाट संयुक्त कारोबार भइरहेको छ । आरम्भ लघुवित्त र चौतारी लघुवित्त वित्तिय संस्थाले पनि मर्जरपछि आरम्भ चौतारी लघुवित्त नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
स्वेडा लघुवित्तलाई गाभेर आकार बढाएको मिर्मिरे लघुतित्त वित्तीय संस्थाले लकडाउनकै समयमा पुन नागबेली लघुवित्तलाई गाभेर मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेको थियो । यस्तै राष्ट्रिय स्तरका दुई लघुवित्त एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्तले मर्जरमा गइसकेका छन् । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच मर्जर भएको हो । मर्जरपछि लघुवित्तहरुले देशको ठूलो लघुवित्तको पहिचान बनाउँदै गरेको र अरुलाई पनि मर्जरमा जान उत्प्रेरित गरिरहेको छ । स्वस्थ लघुवित्त कार्यक्रम सञ्चालन गर्न संस्थाको संख्या घटाउनुपर्ने विज्ञहरु बताउँछन् ।
छिमेक लघुवित्तका सिइओ चोलराज शर्मा जोशी राष्ट्र बैंकको नीतिका कारण ठूला लघुवित्त पनि मर्जमा जानुपर्ने अवस्था आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ठूला संस्था पनि मर्ज हुनुपर्ने अवस्था आएको छ । सुशासन राम्रै भएको संस्थासँग सानो संस्था मर्ज गर्दा राम्रै हुन्छ । तर ठूला दुई संस्थाबीच मर्ज हुँदा भावना नमिल्न पनि सक्छ ।’ उहाँ थप्नुहुन्छ, ‘अलि ठूलो संस्था मर्ज हुँदा एचआर म्यानेजमेन्टका कुराहरु आउँछ । यसबाट दुई वटा संस्थाहरु हुँदा भावना पनि एक हुन गाह्रो हुन्छ । ठूलो संस्थाले सानो संस्थालाई म्यानेज गर्न सक्छ । तर ठूलो संस्थाका बीच मर्ज भयो भने उस्ता उस्तै हुन्छन् । यसले एचआर म्यानेजमेन्टमा समस्या आउन सक्छ ।’




