
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्यचौकी (दोधारा चाँदनी) ले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ अन्तर्गत देउरालीघाट महिला समुहकी ग्राहक सदस्य धनसरा देवी सुनारको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ३० हजार परिवारलाई प्रदान गरिएको छ ।
एक कार्यक्रमका बीच दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडासदस्य थिर बहादुर खडका मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । त्यसैगरी दोधारा चाँदनी नगरपालिका वडा नं. ०९ अन्तर्गत शारदा महिला समुहकी ग्राहक सदस्य टिका रावतको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १ लाख ३० हजार प्रदान गरिएको छ । एक कार्यक्रमका बीच दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ऋषीराम थापा मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वडासदस्य थिर बहादुर खडकाले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्नेबारे प्रष्ट पारेका थिए। साथै बैंक वित्तिय संस्थाबाट आफूलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनुपर्छ, अन्य फजुल खर्च गर्नु हुँदैन र उत्पादन मुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जीवनस्तर माथि उकास्नु पर्छ भन्ने पक्षमा जोड दिएका थिए। वडाअध्यक्ष ऋषीराम थापाले बीमाको महत्व र यसबाट हुने फाइदा बारे जानकारी दिएका थिए। त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।
शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको र बचत तर्फ अधिकतम १०.५० प्रतिशतसम्म ब्याज दिने गरेको बताए।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ । यस शाखाले कञ्चनपुर जिल्लको दोधारा चाँदनी नगरपालिकामा करीब दुई हजार पाँच सय सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।




