
बैंकिङ खबर । गत वर्ष धेरै खराब कर्जाका कारण भारतका तीन ठूला बैंकहरू सङ्कटग्रस्त बनेपछि विज्ञहरूले समग्र भारतीय बैंकिङ प्रणालीको वित्तीय स्वास्थ्यबारे प्रश्न उठाएका छन्।
“हाम्रो व्यापारलाई शुरुमा कोभिड-१९ ले थला पार्यो। हाम्रो बैंकसमेत समस्यामा परेपछि हाम्रा बचत रकम पनि हामीले चलाउन पाएका छैनौँ र हाम्राे दैनिक कारोबार हुन सकेको छैन। कसरी कर्मचारीलाई पैसा दिने थाहा छैन,” लक्ष्मी विलास बैंकका बचतकर्ता मङ्गीलाल परीहारले दुखेसो पोखे।
मुम्बई शहरको बाहिरी भागमा उनको सानो किराना स्टोर छ। प्राय: भारतीयहरूले कुनै बैंक रोज्नुपर्दा दुईटा कुरामा ध्यान दिने गरेको पाइन्छ। एक, तिनले बचतमा दिने ब्याजदर र अर्को ती घरभन्दा कति नजिक छन्।
परीहारले पनि यिनै कुरामा भर परेर उक्त निजी बैंक रोजेका थिए। तर भारतको केन्द्रीय रिजर्भ बैंक अफ इण्डिया आरबीआईले गत वर्ष ९४ वर्ष अगाडि स्थापित उक्त बैंकको वित्तीय स्वास्थ्य सङ्कटग्रस्त भएको भन्दै उसको कारोबारमा अङ्कुश लगायो। जसअनुसार बचतकर्ताहरूले एक महिनामा भारु २५,००० सम्म मात्र झिक्ने पाए।
परीहारले यस्तो दु:ख पाएको यो पहिलोपटक भने होइन। नाै वर्ष अगाडि एउटा स्थानीय सहकारी बैंक सङ्कटग्रस्त हुँदा उनले आफ्नो बचत दुई वर्षसम्म झिक्न पाएनन्।
एकपछि अर्को
गत वर्ष यसरी सङ्कटग्रस्त बनेको लक्ष्मी विलास तेस्रो बैंक हो। सन् २०१९ को सेप्टेम्बरमा पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिभ बैंक पीएमसी सङ्कटमा परेको थियो। करिब ६० करोड डलरको धोकाधडीपूर्ण कर्जा दिएको आरोपमा उक्त बैंकमाथि अनुसन्धान भइरहेको छ।
गत वर्षको मार्च महिनामा भारतको पाँचौँ ठूलो निजी बैंक पीएमसीको कारोबारमा निषेधहरू लगाइएको थियो जब उसले आफ्नो खराब कर्जा मेट्न आवश्यक पुँजी जुटाउन सकेन।
आरबीआईबाट निकै द्रुतगतिमा लक्ष्मी विलास र पीएमसी बैंकको सहायताका लागि कदमहरू चालिएको छ। लक्ष्मी विलास बैंकलाई उसले सिङ्गापुरको सबभन्दा ठूलो बैंक डीबीएसमा गाभ्न सघायो भने यस बैंकमा चाहिँ पुँजी सेचन गरिदियो।
तर पीएमसी ब्याङ्कका बचतकर्ताहरू अझै राहतको पर्खाइमा छन्। तिनैमध्येकी एक हुन् विद्या मेर्वाड। उक्त बैंक सङ्कटमा परेको १४ महिनापश्चात् उनी अझै आफ्नी वृद्ध आमाले दिएको सापटीबाट घर चलाउन बाध्य छिन्। छोरोलाई जर्मनीमा पढाउने अनि छोराको बिहे गरिदिने उनका योजना स्थगित गर्नुपरेको छ। “हाम्रो जीवनभरिको बचत एकैचोटीमा सखाप भयो। अब हामी कसरी बाँच्ने?”
हुन त आरबीआइले विस्तारै उक्त बैंकबाट बचतकर्ताले झिक्न मिल्ने रकमको सीमा बढाइरहेको छ। तर मेर्वाड भन्छिन् उनीहरूको आवश्यकताभन्दा त्यो निकै कम छ।
भारतीय बैंक किन सङ्कटमा ?
पछिल्ला कैयौँ वर्षहरूदेखि भारतीय बैंकहरू ठूलो मात्राको कर्पोरेट खराब कर्जाको मारमा परिरहेको छिपेको छैन। उनीहरूले दशौँ अर्ब डलर बराबर त्यस्ता खराब कर्जा गुमाइसकेका छन्।
कतिपय अर्थविद्हरू यसलाई बैंकहरूको ‘खराब कर्जाको विरासतको समस्या’ भन्ने गर्छन्। व्यापारहरूलाई गरिएका उदार कर्जा वितरणका कारण यस्ता खराब कर्जा बढ्दै गएको उनीहरूकाे भनाइ छ।
आरबीआईका पूर्वगभर्नर रघुराम राजनले यस्ता खराब कर्जाको मुख्य कारण बैंकहरूमा देखिएको ‘अत्यधिक आशावाद र नाजायज उत्साह’ लाई मानेका छन्।
भारतको सबभन्दा ठूलो सरकारी स्वामित्वको स्टेट बैंक अफ इण्डिया एसबीआईकी पूर्वप्रमुख अर्थविद् वृन्दा जागिरदार भन्छिन् ‘वर्तमान कोभिड समस्याले भारतीय अर्थतन्त्र सुस्ताएको सन्दर्भमा यी पछिल्ला घटनालाई हेर्नुपर्छ।’
“खराब कर्जाका अन्य कारणमा कमजोर कर्पोरेट शासन, अव्यवस्था तथा बैंकहरूभित्र कमजोर निगरानी प्रणाली रहेका छन्। यसलाई हरेक तहमा जवाफदेहीता बढाएर समाधान गर्न सकिन्छ,” उनले भनिन्।
यी घटनाका बाबजुद भारतीय बैंकिङ प्रणाली स्वस्थ धरातलमा रहेको उनले बताइन्। सन् २०१६ मा भारतले ऋणदाताहरूलाई कर्जा फिर्ता लिन सघाउन ल्याइएको टाट पल्टनेसम्बन्धी पहिलो कानुन पारित गरेको थियो। तर त्यसले बचतकर्ताहरूमा रहेका त्रास घटेको छैन।
एकजना व्यापार कार्यकारी जलजा मेहताले हालसालै दुईटा धक्का बेहोर्नुपर्यो। उनले बचत गर्ने गरेको दुईटै बैंक–पीएमसी र लक्ष्मी विलास, एकपछि अर्को गरी थला परे।
“अब त मलाई के लाग्छ भने बैंकमा खाली थोरै रकम मात्र राख्नुपर्छ र बचतको ठूलो हिस्सा घरमै आफूसँगै राख्नुपर्छ,” मेहताले भनिन्।बीबीसीकाे सहयाेगमा




