
बैंकिङ खबर।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा शनिबार तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दिपुर माउण्टेन रिसोर्टमा सम्पन्न भयो। वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष सृजना जोशीको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन्।
वार्षिक साधारण सभाले आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको ०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको ०७८ आषाढ मसान्तको चुक्तापूँजी रु. २० करोड ६० लाख २७ हजार २५० को १.६३ प्रतिशतले हुन आउने रु. ३३,६६,९८६.८४ नगद लाभांश (बोनश शेयरमा लाग्ने कर वापतको रकम) पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
यसैगरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्री श्रेष्ठ एण्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउण्टेण्टसलाई आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
त्यसैगरी विशेष प्रस्ताव तर्फ वित्तीय संस्थाको ०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु. २० करोड ६० लाख २७ हजार २५० को ३१.०५ प्रतिशतले हुन आउने रु. ६ करोड ३९ लाख ७२ हजार ७ सय ५० बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ।
बैठकले यस वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने पनि निर्णय गरेको छ।




