विश्वका २० ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको सम्मेलन आईतबारबाट चीनमा सुरु हुँदै छ । जी २० भनिने सो सम्मेलनमा यसपटक खासगरि विश्व अर्थतन्त्रको ताजा अवस्था र जलवायु परिवर्तनसम्बन्धी मुद्धामाथी प्राथमिकताका साथ छलफल हुने बताइएको छ ।
सम्मेलनमा भाग लिन २० शक्ति राष्ट्र चीनको हाङजुमा भेला हुँदैछन् । सम्मेलनको पूर्वसन्ध्यामा शनिबार अमेरिका र चीनले उत्सर्जन कटौती गर्ने वाचा गरिएको पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन । अमेरिका र चीन विश्वमा भइरहेको कूल कार्बन उत्सर्जनको ४० प्रतिशतका लागि जिम्मेवार छन् । चीन र अमेरिकाले उत्सर्जन कटौती गर्ने वाचासहितको पत्रमा हस्ताक्षर गरेलगत्तै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले मुक्तकण्ठले दुई राष्ट्रको सो कदमको प्रशंसा गरेका छन् । उक्त कदम पेरिस जलवायु सम्झौतालाई वास्तविकतामा परिणत गर्न कोशेढुङ्गा हुनसक्छ ।
अरु देशहरुमा उक्त सम्झौता अनुमोदनबारे अझै पनि विवादहरु छन् । तर चीन र अमेरिकाको यो कदमले जी २० सम्मेलनका क्रममा खनिज इन्धनमा दिइदैँ आएको छुट हटाउने आफ्ना प्रतिबद्धता चाँडै पूरा गर्न दबाब बढ्ने देखिन्छ ।पेरिस सम्झौता अनुमोदन भएपछि प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले अमेरिकी राष्ट्रपति बराक ओबामा र चिनियाँ राष्ट्रपति सि जीनपिङ दुवै दुरदर्शी, साहसी र महत्वाकांक्षी नेताहरु भएको बताए ।