
बैंकिङ खबर/बीमा समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि एकीकृत सफ्टवेयर निमार्ण कार्यमा जुटेको समितिले शुक्रबारदेखि औपचारिक रुपमा सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।
समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले शुक्रबार उक्त सफ्टवेयरको उद्धघाटन गर्नुभएको छ । समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाटै उपलब्ध गराउनका लागि एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याएको बताएको छ ।
बीमा कम्पनीहरुले समितिमा पठाउनुपर्ने तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई रहेको हुँदा समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राहीका कामलाई समेत समयमै छोटो छरितो रुपमा सम्पन्न गर्नका लागि नयाँ सफ्टवेयर जडान गरिएको समितिको भनाई छ ।
सफ्टवेयर निमार्ण कम्पनी दर्शन टेकले शुक्रबार नै सफ्टवेयर हस्तान्तरण गरेको समितिले जनाएको छ । समितिका अनुसार हरेक बीमा कम्पनीहरुलाई छुट्टाछुट्टै युजर र आइडी दिईएको छ । बीमा कम्पनीहरुले सफ्टवेयरमार्फत काम अघि बढाएको समेत समितिले जानकारी दिएको छ । साउन १५ गतेदेखि कम्पनीहरुले मासिक रुपमा बुझाउने प्रतिवेदन सोही सफ्टवेयरमार्फत पठाउने समितिले जनाएको छ ।
बीमकहरुले त्रैमासिक वित्तीय विवरण, बार्षिक प्रतिवेदन लगाएतका सम्पूर्ण विवरण तथा अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभै उक्त सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट पठाउन सक्नेछन् ।
उक्त सफ्टवेयरमार्फत बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ, वित्तीय लेखापरिक्षण, सूचना प्रविधि सम्बन्धी विवरण, स्थलगत सुरपरिवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, अभिकर्ता इजाजत लगायतका सम्पूर्ण विवरणहरु प्राप्त गर्न सक्ने समितिले जनाएको छ ।


