नेपाल राष्ट् बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई भदौ मसान्तभित्र पूँजीवृद्धि योजना पेश गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुलाई समानुपातिक पूँजीवृद्धि योजना बमोजिम ०७३ भदौ मसान्तभित्र योजना पेश गर्न निर्देशन दिएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको राष्ट्र बैंकले ०७४/०७५ को बोनश सेयरलाई समेत गणना गर्न पाइने जनाएको छ ।
०७५ असारमसान्तभित्र पुँजी वृद्धि तोकिएअनुसार नगर्ने संस्थाको नगद लाभांश तथा बोनश घोषणा, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने प्रष्ट पार्दै राष्ट्र बैंकमा पूँजीयोजना बुझाएपछि सम्बन्धित कम्पनीले सर्वसाधारणको जानकारीका लागि आ आफ्नो वेभसाइट मार्फत पूँजी योजना सार्वजनिक गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले अर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाले २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था लागु गरेको थियो ।



