
राजुरमण पौडेल
कार्यकारी निर्देशक
बीमा समिति
देशमा बीमा क्षेत्रलाई थप व्यवस्थित तथा विकसित बनाउन संस्थागत तथा कानूनी सुधारका कामहरु हुँदै आएको छ । यसले गर्दा पछिल्लो समय बीमा प्रतिको जनविश्वास बढ्दै गएको छ ।
हाल वैदेशिक रोजगार, म्यादी बीमा गरेर मुलुकको कुल जनसंख्याको २६.२३ प्रतिशत बीमाको पहुँच पुगेको छ ।
चालु आर्थिक वर्षमा सरकारको बीमाको पहुँच विस्तार गरेर कुल जनसंख्याको ३३ प्रतिशत बीमाको पहुँच पु¥याउने लक्ष्य लिइएको छ । सरकारको यो लक्ष्य हासिल गर्न बीमा संघले देशका दुर्गम जिल्लाहरुमा समेत बीमाको पहुँच विस्तार गर्न बीमा कम्पनीहरुलाई सहजिकरणका साथै प्रोत्साहित गर्दै आएको छ ।
देशको बीमा व्यवसायलाई विकास एवम् प्रोत्साहित गर्दै अन्तर्राष्ट्रिय स्तरको पु¥याउनका लागि बीमा समितिले आवश्यक कदम चाल्दै आइरहेको छ ।
सरकारको व्यवसायी कृषिमा जोड दिँदै आएको र नेपालीहरुको मुख्य आयश्रोत कृषि नै भएकोले बीमा समितिले कृषि बीमा विस्तारको समेत जोड दिँदै आएको छ ।
स्थानीय स्तरमा लघुबीमा तथा कृषि बीमाको विस्तारलाई बीमा सचेतना तथा प्रवद्र्धन गर्ने कार्यक्रममा सबैको भूमिका रहन्छ ।
बीमितको हक हित संरक्षणका लागि र बीमा व्यवसायको विकास तथा विस्तारका लागि जोड दिँदै आएको बीमा समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरसम्म समेत फैलाउनका लागि देशका विभिन्न स्तरमा जनचेतना तथा विभिन्न कार्यक्रम गर्दै आएका छौं । यस अन्तर्गत समितिले बाल संग्रह, बीमा चिनारी जस्ता पुस्तकहरु पनि प्रकाशन गरिसकेको छ ।
बीमा क्षेत्रको विकास र विस्तारमा डिजिटलाइजेसन महत्वपूर्ण हुनेछ ।
(मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवमा कार्यकारी निर्देशक पौडेलले राख्नुभएको मन्तव्यको सम्पादित अंश । )
बीमाबारे थप सामग्री
बीमा भनेको के हो?
बीमा भनेको तपाईंलाई आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी हो । तर, बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । तपाईं हामी सबै भोलिका बारेमा अनभिज्ञ हुन्छौँ । तर, अचानक भोलि जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । हुन सक्ने जोखिमको पुर्ताल गर्न गरिने एक प्रकारको सम्झौता बिमा हो ।
बीमा दुई प्रकारले गर्न सकिन्छ
१. जीवन बिमा
बीमा समितिले बिमा भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बिमा पनि मुख्य गरी तीन वर्गका हुन्छन् ।
क) आजीवन जीवन
बिमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बिमामा निर्धा्रित अवधिसम्म बिमितले बिमा शुल्क (प्रिमियम) भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बिमा अवधि सकिएपछि बिमितले बिमा शुल्क तिर्नुपर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि, बिमा अवधि अगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बिमा शुल्क सस्तो पर्छ ।
ख) सावधिक जीवन बीमा
निश्चित अवधिसम्ममा बिमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, बिमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बिमा योजना हो । यो योजना अनुसार तोकिएको अवधिसम्ममा बिमितले बिमा शुल्क बुझाउनुपर्छ । बिमा अवधि समाप्त भएपछि बिमित स्वयंले नै बिमांक रकम र बोनस प्राप्त गर्छ । बिमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बिमा शुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
ग) म्यादी जीवन बिमा
सीमित अवधिका लागि मात्रै यस्तो खालको बिमा गरिन्छ । बिमा अवधिसम्म बिमितले बिमाशुल्क भुक्तानी गर्छ । बिमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर, बिमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बिमाशुल्क पनि कम हुन्छ ।
२. निर्जीवन बीमा
जीवन बिमाबाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बिमा निर्जीवन बिमा हो । यस किसिमको बिमाअन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायात पर्दछन् ।
दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बिमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशु बिमा पनि ल्याएको । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमाको क्षेत्र विस्तार भईरहेको छ ।




