गत आर्थिक वर्ष २०७२/७३ मा विदेशी मुद्राको कारोबारबाट मात्र वाणिज्य बैङ्कहरूले ५ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेका छन् । विदेशी मुद्राबाट हुने बैंकहरुको आम्दानी अघिल्लो वर्षको तुलनामा २२ दशमलव ५९ प्रतिशतले बढेको हो । अघिल्लो आवमा यस्तो आम्दानी ४ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । आवको पछिल्ला ३ महीनामा मात्र बैङ्कहरूको विदेशी मुद्रा कारोाबारबाट भएको आम्दानी ३५ दशमलव १५ प्रतिशतले बढेको छ ।
कसको आम्दानी कति ?
गत आवमा विदेशी मुद्राको कारोबारबाट स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले सबैभन्दा धेरै ६२ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो आवको तुलनामा १ दशमलव २५ प्रतिशत बढी हो । अघिल्लो आवमा बैङ्कले यस्तो आम्दानी ६१ करोड ३९ लाख रुपैयाँ गरेको थियो । यस्तै, हिमालयन बैङ्कको यस्तो आम्दानी २७.१५ प्रतिशतले बढेर ६० करोड ३० लाख रुपैयाँ पुगेको छ । नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले विदेशी मुद्रा कारोबारबाट ५० करोडभन्दा बढी आम्दानी गरेका छन् । कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकको यस्तो आम्दानीले २५ करोड नाघेको छ । गत आर्थिक वर्षमा २१ बैङ्कको यस्तो आम्दानी १० करोड रुपैयाँभन्दा माथि पुगेको छ । बाँकी ८ ओटा बैङ्कको आम्दानी भने १० करोड रुपैयाँभन्दा कम रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा मेगा र राष्ट्रिय वाणिज्य बैङ्कबाहेक अरू सबैको यस्तो आम्दानी बढेको छ । सो अवधिमा मेगाको आम्दानी ३३ दशमलव २८ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्यको शून्य दशमलव २८ प्रतिशत घटेको छ ।
गतवर्षको विनाशकारी भूकम्पपछि विभिन्न देश, दातृ निकाय, परोपकारी संस्था र विदेशमा बस्ने नेपालीबाट सहयोगस्वरूप ठूलो मात्रामा विदेशी मुद्रा नेपाल भित्रिएको थियो । त्यस्तै बढ्दो रेमिट्यान्स आप्रवहका कारण पनि बैङ्कहरूको विदेशी मुद्रा कारोबार र त्यसबाट प्राप्त हुने आम्दानी बढेको बैंकहरुको भनाई छ ।



