Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुलुकको अर्थतन्त्र झन् जर्जर बन्दै, व्यापार घाटा सात खर्ब नाघ्यो

२०७३ श्रावण २७ गते

मुलुकको कुल व्यापार घाटा झण्डै साढे सात खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागकाअनुसार गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२ हजार रुपैयाँ पुगेको हो । भारतबाट गत आर्थिक वर्षमा मात्रै चार खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार रुपैयाँ बराबरको सामान आयात गरिएको छ भने निर्यात ३९ अर्ब ५६ करोड २० लाख ४६ हजार रुपैयाँ बराबरकोमात्र भएको छ । 

भारततर्फको व्यापार घाटा चार खर्ब ४३ अर्ब ७४ करोड ५७ लाख १८ हजार रुपैयाँ छ । त्यस्तै चीनबाट एक खर्ब १६ अर्ब ११ करोड ६२ लाख १५ हजार रुपैयाँको आयात भएको छ भने एक अर्ब ७१ करोड ९४ लाख ६७ हजार रुपैयाँकोमात्र निर्यात भएको छ । चीनतर्फको व्यापारघाटा एक खर्ब १४ अर्ब ३९ करोड ६७ लाख ४८ हजार रहेको छ । 
गत आवमा सबैभन्दा बढी आयात भैरहवा भन्सारबाट भएको छ भने दोस्रोमा वीरगन्ज भन्सार रहेको विभागले जनाएको छ ।

विश्वका ९७ मुलुकमा सामान आयात तथा निर्यात गरिएको छ । विभागकाअनुसार गत आर्थिक वर्षमा सात खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँको कुल आयात भएको छ भने ७० अर्ब २५ करोड ४१ लाख ६५ हजार रुपैयाको मात्रै निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा सात खर्ब ८६ अर्ब १९ करोड १४ लाख तीन हजार रुपैयाँको आयात भएको थियो भने निर्याततर्फ ८५ अर्ब १९ करोड ४७ लाख ५४ हजार रुपैयाँ देखिएको छ । रासस