१६ वर्षपछि कुवेत बजेट घाटामा गएको छ । मार्च ३१ मा सकिएको आर्थिक वर्षमा कुवेतले ४ अर्ब ६० करोड दिनार (१५ अर्ब ३० करोड डलर)बराबरको बजेट अभाव भएको एक विज्ञप्तिमा तेलमन्त्री अनस अल–सालेहको भनाइ उदृत गर्दै स्थानीय समाचार संस्था कुनाले एक समाचार छापेको छ । यो सन् १९९९ को मार्च यताकै पहिलो घाटा हो ।
सरकारले खर्च १४ दशमलव ८ प्रतिशतले कटाउँदै ६० अर्ब ५० करोड डलरमा ल्याएको भए पनि १५ अर्ब ३० करोड डलरको बजेट घाटा भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा तेलबाट हुने आम्दानी ४६ दशमलव ३ प्रतिशतले घटेर ४० अर्ब १० करोड डलरमा झरेको सालेहले बताएका छन् । गत आवमा तेल निर्यातकर्ता देशहरूको समूह ‘ओपेक’ सदस्य राष्ट्र कुवेतको राजस्व ४५ प्रतिशतले घट्दै ४५ अर्ब २० करोड डलरमा आएको छ ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेल सस्तिएकाले घाटा भएको सालेहको भनाइ छ । घाटा भरपाई गर्नका लागि सालेहले गत महीना ऋणपत्र जारी गरेर अन्तरराष्ट्रिय कर्जा बजारबाट केही रकम जुटाउने योजनाका बारेमा बताएका थिए । अप्रिल १ देखि शुरू भएको चालू आर्थिक वर्षमा कुवेतले २८ अर्ब ९० करोड डलरबराबरको घाटा हुने अनुमान गरिएको छ । घाटा कम गर्न गत हप्ता त्यहाँको मन्त्रिपरिषद्ले पेट्रोलको भाउ ८३ प्रतिशतले बढाउने घोषणा गरेको छ । एजेन्सी



