शेयर बजारमा पछिल्लो समय देखिएको उथलपुथलप्रति नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ध्यानाकर्षण गराएको छ । बजारमा अस्वभाविक ढंगले उथलपुथल हुनुपर्ने कारण नरहेको नेप्सेको भनाई छ । ‘यतिबेला मुलुकको अर्थतन्त्रमा उल्लेख्य परिवर्तन भएको छैन, बजार अस्वभाविक ढंगले तल जानुपर्ने कारण देखिएको छैन,’ नेप्सले विज्ञप्तिमार्फत भनेको छ । लगानीकर्ताले सेयर कारोबार गर्दा सम्बद्ध कम्पनीको अवस्था, संस्थागत सुशासन, व्यवस्थापकीय पक्षलगायतमा ध्यान दिन आवश्यक रहेको नेप्सेले उल्लेख गरेको छ ।
पछिल्लो डेढ सातामा शेयर बजार ठूलो उथलपुथल देखियो । शेयर बजारमा आएको लगानीलगानीकर्ता र नियामक बीच एकप्रकारको आरोप प्रत्यारोप नै चल्यो । केही समयअघि शेयर बजार छोटो समयमै ठूलो अंकले बढेको थियो । त्यसपछि, शेयर बजारमा कालोधनको कारोबार हुने गरेकाले यस्तो बुलिस भएको टिप्पणी गरियो । बजारमा कालोधन भएनभएको छानविन गर्न धितोपत्र बोर्डले कृही साताअघि मात्रै सम्पत्ति शुद्धिकरण छानविन समिति गठन गरेको थियो । सोही विषयलाई लिएर लगानीकर्ता असन्तुष्ट थिए । यसै कारणले गत साताको सुरुको दिनदेखि नै शेयर बजार निरन्तर ओरालो लाग्यो । यो साताको सोमबार त शेयर बजार ५ प्रतिशतले घटेर कारोबार समयावधि सकिनु अगावै बन्द भयो । यसरी शेयर बजार निरन्तर ऐतिहासिक तवरले ओरालो लाग्न थालेपछि बोर्डले बाध्य भएर सम्पत्ति छानविन गर्न बनाएको समिति खारेज गर्यो । सो समिति खारेज गरेपछिको पहिलो दिन मंगलबार (आज) को कारोबार खुलेको सवा १ घण्टामा शेयर बजार ५ प्रतिशतले बढेको छ । यसले शेयर बजारमा साँच्चै नै कालोधन त छैन ? भन्ने आशंकालाई बढावा दिएको छ ।


