२०७७ मंसिर १७ गते

युथ एण्ड बैंकिङ : रणनीतिक एचआर ब्यवस्थापन

खडक रोकाया –

अहिलेको तीब्र प्रतिस्पर्धाको अवस्था र सो प्रतिस्पर्धालाई जित्न आफुलाई प्रतिस्पर्धाको मैदानमा टिकाई राख्न र संगठनात्मक लक्ष्य हाँसिल गर्न सबैभन्दा प्रभावकारी ब्यवस्थापनको एचआर रणनीति स्पष्ट र पुर्णरुपमा कार्यान्वयनयोग्य हुन जरुरी हुन्छ ।

रणनीतिक एच आर ब्यवस्थापन यसरी गर्न सकिन्छ
संगठनको रणनीति यथार्थ र स्पष्ट हुन जरुरी हुन्छ । सबै कर्मचारीमा आफ्नो संगठनको मिसन, भिजन र रणनीति तथा उद्देश्यहरुको ज्ञान हुनु पर्दछ । यसका लागि ब्यवस्थापनले आफ्नो संगठनको लक्ष्यहरु तल तल सम्म संचार गर्नुपर्दछ । सो लक्ष्यहरु प्राप्तिका लागि आवश्यक पर्ने सीप क्षमता र दक्षता भएका कर्मचारी तयार पार्नुपर्दछ ।

भर्ना तथा छनौट रणनीति
आफ्नो संगठनको कार्य बिश्लेषण गरेर सो कार्य सम्पादन गर्न आवश्यक पर्ने कर्मचारीको योग्यता र क्षमताको आवश्यकता दर्शाई कर्मचारी भर्ना तथा छनौट कार्य बाट कम्पिटेन्ट मानव संसाधन नियुक्त गर्नु भर्ना तथा छनौट रणनीति हो । दुरुस्त भर्ना तथा छनौट नीतिले संगठनात्मक लक्ष्य हासिल गर्न धेरै हदसम्म सपोर्ट गर्दछ । सक्षम र प्रतिस्पर्धी कर्मचारीले संगठनमा प्रवेश पाउछन् ।

तालिम तथा बिकास रणनीति
नयाँ कर्मचारीलाई दिईने शिक्षण सिकाई तालिम हो । पुराना कर्मचारीहरुको क्षमता बिकास गर्न गरिने सिकाई बिकास हो । नयाँ कर्मचारीले गर्नुपर्ने काम, कामको प्रक्रिया र संगठनात्मक आधारभुत चालचलन तथा ब्यवहारको सिकाई तालिम हो । निर्णय क्षमता, नेतृत्व क्षमता, ब्यावसायीक क्षमता र संगठनात्मक क्षमता बिकास गर्न गरिने सिकाई बिकास हो । संगठनात्मक लक्ष्य हाँसिल गर्न मानव संसाधनको महत्वपुर्ण भुमिका हुने भएकाले कर्मचारीहरुको तालिम तथा बिकास रणनीति एक प्रमुख रणनीति हुनु पर्दछ ।

पुरस्कार तथा सजाय रणनीति
कामको सही मुल्यांकन नहुदासम्म कर्मचारीको उत्पादकत्व मापन गर्न कठिन हुन्छ । कर्मचारीको उत्पादकत्व र संगठनको लक्ष्य एक अर्काका परिपुरक हुन । संगठनको महत्वपुर्ण कर्मचारीहरुको निष्पक्ष पहिचान गरि पुरस्कृत र संगठनको लक्ष्य हाँसिल गर्न योगदान दिन नसक्नेलाई जिम्मेवार बनाउने नीतिले राम्रो काम गर्न सक्छ ।

ब्यवस्थापन श्रम सम्बन्ध रणनीति
पछिल्लो श्रम ऐनले नेपालमा श्रम बिबाद एकहदसम्म हल गरेको छ । तर यसले आर्थिक पाटो मात्र समाधान गरेको छ । सामाजिक, स्वास्थ्य र गुणस्तरीय कार्य जिवनको पाटोलाई राम्रोसंग समेट्न सकेको छैन । जसले मानविय बिकासको संभावनालाई समेट्न सकेको छैन । मानव संसाधन (एचआर) लाई मानव संभाब्यता (एचपी) को रणनीतिले राम्रो प्रतिफल दिन सक्छ र श्रम सम्बन्ध सुमधुर बन्न जान्छ ।

ब्यक्तिगत तथा संगठनात्मक ब्यवहार रणनीति
कार्य वाताबरणले कार्य सन्तुष्टी र संगठनात्मक संरचनाले संगठनात्मक संबन्धको ब्याख्या गरेको हुनुपर्दछ । संगठनको कल्चरले सामुहिक लक्ष्य प्राप्तिमा टेवा पुग्दछ । प्रबिधिको प्रयोग र अधिकार प्रत्यायोजनको शैलीले समेत संगठनात्मक ब्यवहार सरल र सुमधुर बनाउछ ।

मानवीय संभावना विकास रणनीति
मानवीय पुजी यस्तो पुजी हो जुन उत्पादनका अन्य संसाधन भन्दा भिन्न प्रकृतिको संभावना बोकेको एउटा जीबित जिव हो । जसरी हामी संसाधन भन्छौ संसाधन भनेको निश्चित मात्रा हो परिमाण हो तर मानिस कुनै निश्चित परिमाण होईन त्यसैले मानिस भित्रको संभावना बिकासमा पनि संस्था त्यत्तिकै चनाखो हुनु पर्ने हुन्छ ।
दिघो ब्यवसायीक संम्बन्धका लागि, परिवर्तन ब्यवस्थापनका लागि, संगठनको भिजन र मिसन प्राप्तिका लागि, ब्रान्ड ईमेज प्रबद्र्धनका लागि र अर्थतन्त्रको बिकास साझेदार भई काम गर्नका लागि मानव संसाधनको रणनीतिक ब्यवस्थापन अहिलेको सफलताको मुलमन्त्र हो ।