Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ३३ अंकले बढ्यो, कारोबार साढे ७ अर्बनजिक

२०८३ कार्तिक १२ गते

बैंकिङ खबर /  बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ । बजारमा खरिद चाप बढेसँगै अधिकांश उपसमूहमा हरियाली छाएको छ भने कारोबार रकम पनि साढे ७ अर्ब रुपैयाँनजिक पुगेको छ ।

बुधबार नेप्सेमा सूचीकृत ३४८ कम्पनीका १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर किनबेच भएका छन् । दिनभरको कारोबार रकम ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

कारोबार भएका समूहहरूमध्ये व्यापार समूहबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जलविद्युत् समूह सबैभन्दा बढी २.०६ प्रतिशतले उकालो लागेको छ । जीवन बीमा समूह १.५९ प्रतिशत, वित्त समूह १.५५ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, बैंकिङ समूह १.३६ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत र विकास बैंक समूह १.११ प्रतिशतले बढेका छन् । त्यसैगरी लघुवित्त समूह ०.८७ प्रतिशत, अन्य समूह ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत र निर्जीवन बीमा समूह ०.४४ प्रतिशतले बढेका छन् । व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बजारमा देखिएको सुधारलाई नीतिगत स्पष्टता र लगानीकर्ताको बढ्दो सक्रियतासँग जोडेर हेरेका छन् । उनका अनुसार नेपाल धितोपत्र बोर्डले यसअघि ल्याएका केही नीतिबारे स्पष्टता नहुँदा लगानीकर्तामा अन्योल सिर्जना भएको थियो । नीतिगत व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा बजारले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ ।

ढकालले ब्रोकरहरूको भुक्तानी प्रणाली डिजिटल हुँदै जाँदा कारोबारको हिसाबकिताबमा पारदर्शिता बढ्ने र सम्भावित अनियमितताको जोखिम घट्ने बताएका छन् । आगामी वित्तीय प्रतिवेदनमा बैंकहरूको नतिजा राम्रो आउने अपेक्षा पनि उनले व्यक्त गरेका छन् । समग्र नीतिगत व्यवस्था सकारात्मक रहेको उल्लेख गर्दै उनले अब बजारले गति लिन सक्ने धारणा राखेका छन् ।

उनका अनुसार पछिल्लो समय जलविद्युत् क्षेत्रमा लगानीको अवसर देखिएको छ । जलविद्युत् कम्पनीहरूको व्यावसायिक गतिविधि विस्तार हुने संकेत देखिएकाले यस क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्न सक्ने उनको भनाइ छ । लामो समयदेखि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पनि क्रमशः बजारप्रति सक्रिय हुन थालेको उनले बताएका छन् ।

बुधबार बेनी हाइड्रोपावरको सेयरभाउ सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ । बुटवल पावर कम्पनीको सेयरभाउ १०.६० प्रतिशतले बढेको छ । त्यस्तै सुपर खुदी हाइड्रोको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोको ५.८६ प्रतिशत, सान्जेन जलविद्युत्को ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत, होटल फरेस्ट इनको ५.४१ प्रतिशत, माबिलुङ्ग इनर्जीको ४.९५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको मूल्य ४.९४ प्रतिशतले बढेको छ ।

यसैगरी प्राइम बैंक डिबेञ्चरको मूल्य सर्वाधिक २.९६ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार २२२ रुपैयाँ ७० पैसा कायम भएको छ । गरिमा समृद्धि योजना २.७५ प्रतिशत, सिर्जनशील लघुवित्त २.३० प्रतिशत, चिरख्वा हाइड्रो २.१२ प्रतिशत र एनआईसी एसिया सेलेक्ट ३० को मूल्य २.०५ प्रतिशतले घटेको छ । त्यस्तै माथिल्लो मैलुङ खोला जलविद्युत् १.९१ प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड–१ १.९० प्रतिशत, गुराँस लघुवित्त १.४९ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ १.४१ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरभाउ १.३६ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक र अधिकांश उपसमूहमा सुधार देखिए पनि एक दिनको वृद्धिले मात्र बजारको दीर्घकालीन दिशा निश्चित गर्दैन । आगामी कारोबारको प्रवृत्ति, कम्पनीहरूको वित्तीय अवस्था र नीतिगत विकासले बजारको गति निर्धारण गर्नेछ ।

Ad