२०७७ आश्विन २६ गते

लकडाउन र नेपाली सेयरबजार

उदिप लुइटेल-

सामान्यतया सेयर बजार कुनै पनि देशको अर्थतन्त्रको मापक हो । सेयर बजारको गती अनुसार त्यो देशको अर्थतन्त्र कस्तो छ भनेर अनुमान गर्न सकिन्छ । वि.सं १९९३ मा विराटनगर जुट मिल्स र वि.सं १९९४ मा नेपाल बैंक लिमिटेडले शेयर जारी गरेबाट नेपालमा सर्वसाधारणबाट पुँजी संकलन गर्ने काम सुरु भएको हो । धितोपत्र बजारको सञ्चालन गर्न र आन्तरिक पुँजी परिचालन गर्ने उद्धेश्यले कम्पनी ऐन, २०२१ अन्तरगत २०३३ असार २२ गते सेक्युरिटी खरिद विक्री केन्द्रको स्थापना भयो । यो केन्द्र धितोपत्र कारोबार ऐन (पहिलो शंसोधन ) २०४९ अनुसार २०५० साल जेठ १३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा परिणत भयो ।

संसारमा सेयरको मूल्य आफैमा रहस्यमय रहेको छ । यसका बारेमा धेरै अनुसन्धान भएका छन्, तर हालसम्म यसको शतप्रतिशत भविष्यवाणी गर्न कठिन नै देखिएको छ । त्यसैले यदि कसैले भोलिको सेयर मूल्य थाहा पाउँछ भने ऊ एक रातमा अर्बपति हुन्छ । सेयर बजारमा उतार चढावहरु आइरहन्छन् ।उतार चढाव आउनमा आर्थिक, सामाजिक, राजनीतिक, कानुनी, मनोवैज्ञानिक तत्वले प्रभाव पारेको हुन्छ । सेयरबजारमा सधैं बढिरहने र निरन्तर घटिरहने भन्ने हुँदैन ।

नेपालको सेयरबजार विश्वसँग प्रत्यक्ष नजोडिएको भएपनि कोरोनाको मनौवैज्ञानिक असर नेपाली सेयरबजारमा पनि देखिएको छ। २०७६ चैत ११ देखि बन्द सेयर बजार २०७७ वैशाख ३० र ३१ गते दुई दिन खोलिएको थियो।धितोपत्र बोर्डको निर्देशन अनुसार नै खुलेको दुई दिनमा बजार लगातार घटेर कारोबार स्थगित भयो। पहिलो दिन १० करोड रुपैयाँ र दोस्रो दिन ३६ लाख रुपैयाँ बराबरको कारोबार भएपछि नेप्से २ प्रतिशतका दरले घट्यो र सर्किट ब्रेकर लाग्यो। असार १५ गते ११ सय ७८ अंकसम्म नेप्से झरेको थियो । कोरोनाले अर्थतन्त्रमा नकारात्मक असर परिरहेकै बेला २०७७ असार १६ गतेदेखी सेयर बजारले उकालो गति समातेको छ। लकडाउनका कारणअर्थतन्त्रमा ठूलो असर परेपनि शेयरबजारमा भने चमक देखिएको छ।यस अघि लकडाउनमा लामो समय बन्द रहेको शेयर बजार पछिल्लो पटक भने अनलाइन कारोबार सम्भव भएपछि बन्द भएको छैन । सेयरबजारको परिसूचक नेप्से २०७७ असोज  २१ गते बिहीवार १४ अंकले बढेर विगत ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ। यसदिनको कारोबारपछि नेप्से परिसूचक १६ सय अंकमा पुगेको छ। २०७७ भदौ १७ गते ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर खरिद विक्री भएको छ। यो कारोबार नेप्सेको इतिहासमा एकै दिनमा भएको कारोबारलाई हेर्ने हो भने दोस्रो ठूलो कारोबार हो।यस अघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

पछिल्लो समय बैंकहरु हरेक स्थानीय तहमा गएपछि पनि वित्तीय चेतना बढदै गएको छ । यसले पनि सेयरमा लगानी गर्न सकिन्छ भन्ने सम्मको जानकारी गाउँगाउँमा पुगेको छ । हरेक मानिसले शेयरका बारेमा राखेको

जानकारीले पनि सेयरबजारप्रति चासो बढ्दै गएको छ भन्न सकिन्छ । नेपालको सेयर बजारमा सबैभन्दा बढी हिस्सा सेयर बैंकको भएकाले पनि बैंक पुगेको ठाउँमा सेयर सम्बन्धि चर्चा चलेको हुन सक्छ । यसले सेयर बजारलाई फाइदा नै पुर्याएको छ । २०७७ असोज १४ गतेसम्म सिडिएस सिमा हितग्राहि (डिम्याट) खाता खोल्नेको सङ्ख्या १९ लाख ८१ हजार ५९८ पुगेको छ।

नेपाली सेयर बजारमा पछिल्लो समय सर्वसाधारण प्राथमिक र दोस्रो बजारमा उल्लेख्य बढेका छन्। प्राथमिक र दोस्रो बजारको तुलनामा सबैभन्दा बढी आकर्षण प्राथमिक बजारमा देखिन थालेको छ। आकर्षण मात्रै देखिएको छैन सर्वसाधारणले शेयर आवेदनमा नयाँ रेकर्ड नै कायम गरेका छन्। प्राथमिक बजारमा निष्काशित हुने शेयरमा बैंकबाट समेत आवेदन गर्न सकिने व्यवस्थाले सर्वसाधारणले प्राथमिक सेयर खरिद गरेको देखिन्छ । अन्यत्र लगानीको वातावरण कम हुँदै गएपछि सर्वसाधारण शेयर बजारमा ओइरिन थालेका छन् । अनलाइनबाटै शेयरमा आवेदन दिन सकिने र अन्य क्षेत्रमा लगानीको वातावरण कम भएको कारण प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । नेप्सेको पछिल्लो तथ्यांक अनुसार सक्रिय लगानीकर्ताहरुको संख्या ३ लाख ३७ हजार ३६० पुगेको छ । त्यसमध्ये अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताह रु एकलाख २० हजार ४९९ जना छन्।

पछिल्लो समय निष्काशन भएको जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा आवेदनकर्ताको नयाँ रेकर्ड कायम भएको छ। जनरलमा मात्रै ६ लाख ३३ हजार ४५ लेअनलाइनबाट आवेदन दिएका छन् भने एकलाख ७६ हजार ५६ ले बैंक वित्तीय संस्थामै गएर आवेदन दिएका हुन्। अनलाइन आवेदक ७२.१८ प्रतिशत छन्। जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा मात्र नभइ पछिल्लो समय हरेक आवेदनमा नयाँ रेकर्ड कायम हुँदै आएको छ ।

सेयर बजारमा आकर्षण बढ्नुको कारणहरु:

१) बैंकमा अधिक तरलता हुनु र त्यसको प्रभावले ब्याजदर घट्दै जानुले सेयर बजारमा मुख्य प्रभाव पर्दछ साथै साधारणतया ब्याजदर र नेप्सेबीच विपरीत सम्बन्ध हुनु।

२) सिंगल अंकमै ऋण लिन पाइने अवस्था छ, बैंकहरुले सेयरकर्जाका लागि पनि अफर ल्याइरहेका छन् यसले बजार सकारात्मक दिशा तिर गएको ।

३) कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने बेला भएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको ।

४) अझै धेरै कम्पनीहरु खास गरी बैंकको मूल्य अन्डर भ्यालुमै हुनु, त्यसकारण बजारमा यति बेला आकर्षण  देखिएको।

५)पछिल्लो समय बजार प्रविधिमैत्री हुँदै जानु र निषेधाज्ञापछि सेयर बजारमा लगानीकर्ता आफैले अनलाइनबाट सेयर खरिदबिक्री गरिरहेका छन्।

६) विदेशमा हुनेहरुले पनि अहिले सेयर खरिद गर्न र बिक्री गर्न सक्ने हुँदा नयाँ लगानीकर्ता पनि बजारमा प्रवेश हुनु ।  

७) नेपालको सेयर कारोबारको ८० प्रतिशतभन्दा बढी हिस्सा बैङ्क, विकास बैङ्क, लघुवित्त, वित्त कम्पनी, बिमा कम्पनीहरूको रहेको छ र यी सबै नाफामा रहेकोले।

८)विगतको इतिहास हेर्दा पनि बियरिसट्रेण्ड पछि बुलिस ट्रेण्ड आउने भएकोले बजार बढने सम्भावना रहेको।

 

 लेखक नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ ।