Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभर चर्चामा रहेका बैंकिङ तथा वित्तीय गतिविधिहरु

२०७३ श्रावण १४ गते

bankingहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तीय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस साता शेयर ब्रोकरको नयाँ कमिशन दर लागू भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

शेयर ब्रोकरको नयाँ कमिशन दर
यस साताको सोमबारदेखि ४० प्रतिशतले घटाइएको शेयर ब्रोकरको कमिशन दर लागू भयो । यसले शेयर बजारतर्फ सर्वसाधारणको आकर्षण बढायो । फलतः शेयर बजारले नयाँ उचाई पायो । यसै साता शेयर बजार आजसम्मकै उच्च १८८१ अंक पार गर्यो । त्यस्तै, कारोबार रकम पनि आजसम्मकै उच्च पौने ३ अर्बसम्म पुग्यो । विहीबार नेप्से परिसूचक १८७७ अंकमा छ । साताको आइतबारदेखि नै लागू गर्ने भनिएको नयाँ कमिशन दर प्राविधिक समस्याका कारण सम्भव नहुँदा आइतबार शेयर कारोबार नै भएन ।  

शेयर निष्काशन, विक्रि तथा वितरण
कृषि विकास बैंक लिमिटेडले बोनश शेयर प्रमाणपत्र वितरण शुक्रबारदेखि सुरु गर्यो । सिटिजन्स बैंकले निष्काशन गरेको ५५ प्रतिशत हकप्रदका लागि आवेदन दिने समय यसै साताको आइतबारदेखि सकियो । सुभेच्छा विकास बैंकको ५ लाख कित्ता हकप्रद र २ लाख ६९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भयो । कसमस डेभलपमेण्ट बैङ्क लिमिटेडलेसाउन ११ गतेबाट भदौ १३ गतेसम्मका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्यो । खानीखोला हाइड्रोपावरको साधारण सेयर मंगलबार विहान बाँडफाट भयो । 

सम्झौता
हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भयो । बुम रेमिटले आइतबार तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकलाई आफ्नो एजेन्टमा नियुक्त गर्यो । काठमाडौँस्थित सोल्टीमोडमा रहेको बूम रेमिट्यान्स प्रालीलाई मेघा ईन्टरनेशनल मनि ट्रान्सफर प्रा लि ले आफ्नो सुपर–एजेन्ट नियूक्त गर्यो । विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्राइरहेको बेष्ट रेमिट नेपालले सुर्खेतमा केन्द्रिय कार्यालय रहेको बौद्ध ग्रामीण माइक्रोफाइनान्ससँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गर्यो । ग्लोबल आइएमई बैंकले सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुन गईरहेको ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि आवश्यक पर्ने जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गर्ने सम्झौता गर्यो । इजी लिंक रेमिट्यान्स र माछापुच्छ्रे बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भयो । 

पुरस्कार, सम्मान तथा अनुदान
नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (इक्यान)ले कैलाश विकास बैंक लिमिटेडलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०७२ प्रदान गर्यो । नेपाल एसविआई बैंकले नन्दीरात्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई तीन लाख ३० हजार रुपैयाँ बरावरको सहयोग गर्यो ।

सेवा सुविधा तथा शाखा विस्तार
सानिमा बैंकले “सानिमा मनि म्याक्सिमाइजेसन स्किम” ल्यायो । प्रभु बैंक लिमिटेडले रसुवा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल चिन विचको नाका स्याफ्रुवेशीमा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्यायो । एनएमबि बैंकले एक घर एक खाता योजना सुरु गर्यो । छिमेक लघुवित्त विकास बैंकले यूके एड सक्षमको सहकार्यमा महिला बैंकिङ अभिकर्ताहरु मार्फत पश्चिम नेपालका ग्रामीण केन्द्रहरुमा आफ्नो वित्तीय उपज तथा सेवाहरुको विस्तार गर्यो । 

बीमा
बीमा समितिले बीमा कम्पनीहरुलाई समयमै वित्तीय विवरण बुझाउन निर्देशन दियो । साथै, समितिले तोकिएको अवधिभित्र नै साधारणसभा सम्पन्न गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दियो । 

अन्य
ज्योति बिकाश बैंक लिमिटेडले यसै सातको आइतबारदेखि आफ्नो स्थापनाको आठौ वर्ष पुरा गर्यो । सरकारले सघन अनुगमन भएका उपत्यकाका सहकारी संस्थाले लेखापरीक्षणको स्वीकृति लिन सहकारी विभागमै निवेदन दिनुपर्ने व्यवस्था ल्यायो । स्टाण्डर्ड चार्टर्ड बैंकले बिहीवार काठमाडौंमा करेस्पोण्डेट बैंकिङ्ग कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।