२०७३ श्रावण ११ गते

हकप्रद निष्काशनको तयारीमा जुटेका ३ वित्तीय संस्थाहरु

rights-issueगत साता मात्रै एक वाणिज्य बैंक सहित तीन कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि आवेदन दर्ता गराएका छन् । सिद्धार्थ बैंक, एनएमबी माइक्रो फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनको लागि बोर्डमा आवेदन दर्ता गराएका हुन् ।

सिद्धार्थ बैंकले आफ्ना शेयर धनीलाई पच्चिस प्रतिशत अर्थात् ४ बराबर १ कित्ताका दरले हकप्रद निष्काशन गर्न लागेको छ । बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । विजनेश युनिभर्सलाई गाभेको बैंकको ३ अर्ब ३ करोड चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 

एनएमबी माइक्रो फाइनान्सले ५ करोड ५२ लाख रुपैयाँ बराबरको ५ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय बिस प्रतिशत अर्थात १ बराबर १.२ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशनको लागि आवेदन दिएको हो । यो कम्पनीको पनि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 

मितेरी डेभलपेमन्ट बैंकले पचास प्रतिशत अर्थात् २ बराबर १ कित्ताका दरले हकप्रद शेयर  निष्काशन गर्नका लागि अनुमति माग गरेको छ । मितेरीले १० करोड ५६ लाखरुपैयाँ बराबरको १० लाख ५६ हजार ३६९ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको छ । मितेरीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर रहेको छ ।