शेयर ब्रोकरको नयाँ कमिशन दर आइतबारदेखि लागू हुने भएको छ । धितोपत्र बोर्डले सकेसम्म विहिबारदेखि नै नयाँ व्यवस्था लागू गर्न भनेपनि नेप्सेले भने सफ्टवेयरमा केही प्राविधिक प्रक्रिया पूरा गरी आइतबारदेखि मात्रै लागु गर्ने जनाएको छ । धितोपत्र बोर्डका अध्यक्ष कार्कीले धितोपत्र कारोबार संख्या तथा रकममा निरन्तर बृद्धि भईरहेको पृष्ठभुमिमा धितोपत्र ब्यवसायीले लिने कमिशनमा पुनरावलोकन गरी लागत घटाएर लगानीकर्ता मैत्री बनाउन नयाँ कमिशन दर तय गरिएको बताए ।
बोर्डले धेरै अगाडि धितोपत्र ब्यवसायी नियमावली २०६४ को अनुसुची १४ संशोधन गर्न अर्थ मन्त्रालयमा पेश गरेकोमा बुधबार साँझ मात्रै स्वीकृत भएको थियो । सो नियमावलीको अनुसूची १४ संशोधन स्वीकृत भएपछि शेयर लगानीकर्ताले शेयर ब्रोकरलाई दिनुपर्ने ४० प्रतिशत कमिशन घटेको हो । यो व्यवस्था लागु भएपछि शेयर ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म ० दशमलव ६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ० दशमलव ५ प्रतिशत, ५ लाखदेखि माथी ०.४ प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछन् ।


