गत आर्थिक वर्षको ११ महिनामा विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । मुद्राप्रदाय वृद्धिदर अघिल्लमे वर्षको तुलनामा थोरै घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने २०७३ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १९ प्रतिशतले बढेको छ ।
सो अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) १ खर्ब ७१ अर्ब १५ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति १ खर्ब २७ अर्ब २० करोड रुपैयाँले बढेको थियो ।
त्यस्तै, सञ्चित मुद्रा ०.१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १५.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ जेठ मसान्तमा उक्त मुद्रा ३.५ प्रतिशतले बढेको छ ।


