Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लकडाउनले गण्डकी प्रदेशमा २३ अर्बको क्षति

२०७७ जेष्ठ १२ गते

५० हजार युवालाई रोजगारीको खाँचो

पोखरा –कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन दुई महिना पूरा भएको छ । लकडाउन जारी रहँदा गण्डकी प्रदेशमा करिब २३ अर्ब बराबरको क्षति पुगेको छ । लकडाउनले गर्दा गण्डकी प्रदेशमा हालसम्म करिव २३ अर्ब १७ करोड भन्दा बढी क्षति पुगेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोरोनाको कारण गण्डकी प्रदेशमा यसले करिव दुई महिनाको अन्तरालमा अर्थतन्त्रमा परेको असरबारे अध्ययनको प्रारम्भिक प्रतिवेदन अनुसार प्रदेशमा एक दिन बन्द हँुदा कुल ग्राहस्थ उत्पादनमा ३८ करोड ६२ लाख मूल्य बराबरको नोक्सान हुने भएको अध्ययन कार्यदलका संयोजक एवं गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले बताए ।
उनका अनुसार ग्राहस्थ उत्पादन र विप्रेषणमा गरी लकडाउनले प्रत्येक दिन प्रदेशमा ७६ करोड ५३ लाख नोक्सानी भएको छ । लकडाउनले गर्दा करिव १५ प्रतिशत भन्दा बढी बेरोजगार हुनु पुगेको र विदेशबाट आउने करिब ६७ हजार जनता गण्डकी प्रदेशमा फर्किने भएको हुँदा यसले प्रदेशमा प्रत्यक्ष ५० हजार युवालाई रोजगारीको अवसर सृजना गर्नु पर्ने खाँचो रहेको संयोजक डा. पौडेलले बताए । उनका अनुसार प्रदेशमा ६ लाख ६ हजार जनाले काम गर्ने गरेका छन् ।
लकडाउनका कारण सिर्जित समस्याले रोजगारी गुमाएकाहरुको व्यवस्थापन गर्नु, होटल तथा रेष्टुरेण्टका मजदुर, कृषि, पशुपालन र उद्योग कलकारखानाका मजदुरको व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखा परेको उनले बताए । साथै कार्यदलले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि अलपकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेर काम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।
सरुवा तथा संक्रमण रोगका साथै अन्य महामारी रोगहरुको रोकथाम र नियन्त्रणका लागि प्रतिकार्य योजना बनाई लागू गर्ने, सबै जिल्ला अस्पतालहरुमा कम्तिमा पनि भेन्टिलेटर सहितका ५ वटा सघन उपचार कक्ष ( आइसियू) बेड विकास गर्नुपर्ने संयोजक डा. पौडेलले बताए ।
मध्यकालीन योजनाअन्र्तगत ३ वर्षभित्र प्रदेशका सबै गरीब जनतालाई स्वास्थ्य बिमामा आवद्ध गराउने, प्रदेशको आधुनिक प्रयोगशालासहित १ सय बेडको सरुवा तथा संक्रमण रोग अस्पताल स्थापना गर्नुपर्ने, प्रदेशले ५ वर्ष मुनिका बालबच्चा, गरीब परिवारका गर्भवती महिला अपाङगता भएका व्यक्तिलाई पोषण योजना ल्याउनु पर्ने, सार्वजनिक क्षेत्रले कोरोना जस्तै अन्य सरुवा तथा संक्रमण रोगको व्यवस्थापन गर्न संगठन संरचनामा पुनरावलोकन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । दीर्घकालीन योजनामा प्रदेशमा ५ सय बेडको अस्पतालसहितको एक मेडिकल कलेज गण्डकी विश्वविद्यालय अन्र्तगत स्थापना गर्ने, जनसंख्या र स्वास्थ्यकर्मीको अनुपात विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बनाउन प्रयत्न गर्नुपर्ने संयोजक डा. पौडेलले जनाए ।
अहिलेको अवस्थामा पूर्वाधार निर्माणका क्रममा निर्माण स्थलमा श्रमिक र अन्य व्यक्तिले अपनाउनु पर्ने सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी निर्माण कार्य सुचारु गर्नुपर्ने उनले बताए ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचार कोषमा १८ करोड ६ लाख ४ हजार जम्मा भएको संयोजक डा. पौडेलले जनाए । उनका अनुसार ६ करोड २६ लाख हालसम्म खर्च भएको छ भने काँकी ११ करोड ८० लाख बाँकी रहेको छ ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।

Ad