लकडाउनको दोस्रो महिना वैशाखमा ४५ अर्ब ८५ करोड रुपैयाँको वैदेखिक व्यापार भएको छ ।चालु आर्थिक वर्षको वैशाखमा ४२ अर्ब ६० करोडको मालवस्तु आयात भएको छ भने ३ अर्ब २५ करोडको मालवस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा ११ खर्ब ७ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यस आवको १० महिनामा १० खर्ब २५ अर्ब १३ करोड रुपयाँको वस्तु तथा मालवस्तु आयात भएको छ भने नेपालबाट ८२ अर्ब ६करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
हाल भएको वैदेशिक व्यापार गएको आवको भन्दा ११.८९ प्रतिशतले कम हो । गएको आवको सोही अवधिमा १२ खर्ब ५६ अर्ब ६७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । गत आवको यो अवधिमा १२.९९ प्रतिशतले घटेर १० खर्ब २५ अर्ब १३ करोडमा सीमित भएको छ भने समीक्षा अवधिमा ४.५० प्रतिशतले निर्यात भने बढेर ८२ अर्ब ६ करोड पुगेको छ । गएको आवको सोही अवधिमा ७८ अर्ब ५३ करोड रुपैयाँको मालवस्तु निर्यात भएको थियो ।
चालु आवको यस अवधिमा भएको कुल व्यापारमा ९२.५९ प्रतिशत आयातको हिस्सा रहेको छ भने ७.४१ प्रतिशत निर्यातको हिस्सा रहेको छ । गएको आवको वैदेशिक व्यापारमा ९३.७५ प्रतिशत आयातको र ६.२५ प्रतिशत निर्यातको हिस्सा रहेको थियो ।
आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।