बीमा समितिले एकीकृत सम्पत्ति बीमामा जोड दिने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमाको क्षेत्रमा २०७६ साल नीति निर्माण गरिए पश्चात अब स्थानीय निकायको समन्वयमा एकीकृत सम्पत्ति बीमालाई पहिलो प्राथमिकतामा राखेको बताए । यसका लागि बीमा समितिले सबै स्थानीय निकायहरूसँग छलफल चलाइसकेको र अबको आर्थिक वर्षमा एकीकृत सम्पत्ति बीमा र कृषि बीमा पहिलो प्राथमिकतामा राखिएको उनले बताए ।
आज जेठ १ गते बीमा समितिले ५२ औं वार्षिकोत्सव अनलाइनमा नै कार्यक्रम राखेर मनाउँदै छ । उक्त कार्यक्रममा प्रमुख अतिथि अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडा रहेका छन् । अनलाइन कार्यक्रममा बीमा समितिले एक वर्षमा गरेको कामको समीक्षा र आगामी वर्षको लागि नयाँ योजना सार्वजनिक गर्ने कार्यक्रम राखिएको अध्यक्ष चापागाईँले जानकारी दिए ।
‘बीमा समितिका लागि यो वर्ष योजना र नीति बनाउने वर्ष मात्र भयो, अब भने बीमा समिति फिल्डमा उत्रने बेला आएको छ,’ उनले भने आउँदो वर्षदेखि बीमा क्षेत्रमा वास्तविक रुपमा नयाँ परिणाम देखिने वर्ष बन्न सक्छ ।’ यसवर्ष बीमा क्षेत्रका लागि अति आवश्यक पर्ने निर्देशिका र कार्यविधिहरू बनाएको उनले बताए । उनले भने, बीमा क्षेत्रमा रहेका धेरै दुविधा र अन्योल २०७६ सालमा बनेका निर्देशन र कार्यविधिले अत्य गर्नेछ । ‘
बीमा क्षेत्रको दायर वैदेशिक (म्यादी बीमा) बाहेक २२ प्रतिशत रहेका र म्यादी बीमा समेत गणना गर्दा बीमाको पहुँच २७ प्रतिशत पुगेको उनले जानकारी दिए । गत वर्ष बीमा पेनिटेशन १७ प्रतिशत रहेको थियो । बीमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को योगदान २ दशमलब ६७ प्रतिशतबाट ३ दशमलब ४ प्रतिशत पुगेको उनले बताए ।
नेपालमा बीमाको वृद्धिदर २ दशमलब ५ प्रतिशत रहेको छ । हाल नेपालमा बीमामा ११५ अर्बको प्रिमियरको आकार बनेको उनले जानकारी गराए ।
कृषि क्षेत्रको व्यवसायीकरणमा ठूलो भूमिका निर्वाह गर्ने कृषि बीमालाई बीमा समितिले अब बीमा कम्पनीहरूका शाखा नभएका स्थानमा पनि घुम्ती बीमा मार्फत व्यापक विस्तार गर्ने योजना बनाएको उनले बताए ।
बीमा कम्पनीहरूको पुँजी वृद्धिको योजना यस वर्षको महामारीका कारण बीमा कम्पनीहरूको स्थिति हेरेर मात्रै थप भन्न मिल्ने अवस्था आएको उनको धारणा रहेको छ ।
आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।