बैंकिङ खबर । कोरोना संक्रमणको अबस्था विस्तारै झन जटिलतातर्फ उन्मुख भएको छ । कहीँ कर्फयू निशेधाज्ञा लगाइएको छ भने सेना समेत परिचालन गरिएको छ । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । सवारी पास भएमा पनि त्यसलाई खारेजी गरेको छ । यसले मुलुक कोरोनाको जोखिममा रहेको र परिक्षण विधि अत्याधिक बढाउनुपर्ने देखाएको छ । सरकारले लकडाउन मात्रै गरेर कोरोना संक्रमणबाट जोगाउन खोजे पनि परिक्षण विधि ढिलाई हुँदा यस्तो समस्या आएको बताइन्छ । एकैदिन यतिधेरै कोरोना संक्रमण बढेको पहिलो पटक हो । पर्सामा मात्रै ६४ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ । सो सँगै संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको छ । जहाँ सेना परिचालन र निशेधाज्ञा जारी गरिएको छ ।
मंगलबार एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित
नेपालमा मंगलबार एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा उक्त संक्रमित भेटिएका हुन् । उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
एक जिल्लाबाट अर्को जिल्लामा जान रोक
सरकारले आवतजावतमा कडाई गरेको छ । गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको हो । मन्त्रालयले जारी भएका पास पनि रद्द गरेको छ । कोरोना संक्रमितको संख्या बढेपछि सरकारले कडाई अपनाएको हो । जेठ १ गतेदेखि थप कडाई गर्ने भएको छ । अब जिल्ला प्रशासन कार्यालयबाट जारी पासमा मात्रै हिँडडुल गर्न पाइने छ ।