अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७।७८ को बजेट कोरोना भाइरस महामारी (कोभिड–१९) बाट सिर्जित बहुपक्षीय असरको निराकरणमा केन्द्रित हुने बताएका छन्। पूर्वबजेट छलफललाई मार्ग प्रशस्त गर्न संसद्मा विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले जनस्वास्थ्य संकट सामना गर्न पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य पूर्वाधार, निजी क्षेत्रका लागि प्रोत्साहनसहितको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, सबै क्षेत्रमा आधुनिक प्रविधि विस्तार तथा सामाजिक सुरक्षामा केन्द्रित गर्ने उल्लेख गरेका छन्।
कोभिड–१९ को प्रभाव दूरगामी हुन नदिने भन्दै खतिवडाले भूकम्पपछि नेपाल छिट्टै माथि उठेको स्मरण गर्दै सोहीअनुसार आर्थिक पुनरुत्थान गरिने बताए। त्यसका लागि सार्वजनिक स्रोत र साधनको अधिकतम सदुपयोग हुने गरी बजेट अनुशासन कायम गर्ने तथा बजेट खर्च गर्दा त्यसलाई परिणामसँग जोडिने बताएका छन्।
उनले आगामी आर्थिक वर्ष उद्यम, व्यवसायका लागि कठिन रहेकोले कर नबढाउने संकेत गरेका छन्। करको दरभन्दा दायरा विस्तार गरिने उनको भनाइ छ। उनले कर परिपालनामा वृद्धि र राजस्व चुहावट नियन्त्रणमार्फत थप राजस्व परिचालन गरिने उल्लेख गरेका छन्। स्थायित्वसहितको उच्च आर्थिक वृद्धि दरको चरणमा सीघ्र प्रवेश गर्ने गरी अर्थतन्त्रलाई थप गतिशील बनाउनेतर्फ बजेट केन्द्रित हुने उनले बताए।
राजस्व प्रणाली प्रगतिशील, न्यायपूर्ण, पारदर्शी र व्यवसायमैत्री बनाउँदै आन्तरिक आयलाई राजस्वको मूल आधारका रूपमा विकास गरिने उनले बताए। आन्तरिक स्रोतको परिपूरक स्रोतको रूपमा थप अन्तर्राष्ट्रिय विकास सहायता परिचालन गरिने उनले प्रष्ट्याएका छन्।
उनले आगामी बजेटमा खर्च व्यहोर्ने प्रमुख स्रोतका रुपमा वैदेशिक सहायतालाई प्राथमिकतामा राखेका छन्। ऋण र अनुदानित वैदेशिक सहयोगलाई स्वास्थ्य पूर्वाधार, आर्थिक पुनरुत्थान, दिगो पूर्वाधार निर्माणमा केन्द्रित गर्ने बताएका छन्। उनले निजी क्षेत्रका व्यवसाय र रोजगारी जगेर्ना गर्न उनीहरुलाई समेत वैदेशिक ऋण उपलब्ध गराउन पहल गर्नेमा जोड दिए।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरआबद्धताका कारण नेपालमा अर्थतन्त्रका क्षेत्र श्रम, पर्यटनमा धेरै ठूलो प्रभाव परेको छ’, उनले भने। अन्य क्षेत्र पनि प्रभावित रहेकोले त्यसलाई ध्यान दिई उक्त क्षेत्रलाई पुनरुत्थान गर्न बजेट कार्यक्रम समावेश गरिने उनले जानकारी दिए।
विकास निर्माणमा कोरोनाले पारेको असरलाई प्राथमिकता दिई बजेट कार्यक्रम समावेश हुने, नेपालमा द्रुत विकासको जनआकांक्षा रहेकोले त्यसलाई ध्यान दिई नयाँ कार्यक्रम ल्याउने उनले संसद्लाई जानकारी गराए। सामाजिक न्याय र स्थायित्वसहितको आर्थिक वृद्धिदरलाई बजेटले लक्षित गर्ने उनको भनाइ थियो।
उनका अनुसार भूमिहीन किसानलाई भूमिमा पहुँच दिने, कोरोनाले रोजगारी गुमाएकालाई र विदेशबाट फर्केकालाई स्वदेशमा नै रोजगारी दिने कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालनमा आउनेछ। कार्यक्रम प्रदेश र स्थानीय तहको समन्वयमा कार्यान्वयन हुने खतिवडाले बताए। आगामी वर्ष निजी क्षेत्रको नवप्रवर्तन उद्यमीलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए।
स्वदेशी कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन हुने कार्यक्रम समावेश हुने भएको छ। नेपालमा विद्युत् उत्पादन बढिरहेकाले त्यसलाई अझ प्रथमिकता दिइने, अन्तर्देशीय प्रसारणलाइन विस्तार गरी विद्युत् व्यापारलाई प्रोत्साहन गरिने कार्यक्रमसमेत बजेटमा वर्षमा आउने उनले बताए। सुरुङ मार्ग, रेल मार्ग र जल मार्गलाई प्राथमिकता राखेर बजेट ल्याइने उनको भनाइ छ।
मन्त्री खतिवडाका अनुसार पञ्चवर्षीय योजनामा समावेश भएका केही योजना पुनः प्राथमिकीकरण गरी बजेट व्यवस्था गरिनेछ। आगामी बजेटले चालु आयोजना छिटो सम्पन्न गर्न आवश्यकताअनुसार स्रोत व्यवस्थापन गर्नेछ। अति आवश्यकबाहेक सकेसम्म नयाँ आयोजना निरुत्साहित गर्ने विषयलाई उनले बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेका छन्।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।
