भैरहवा-कोरोना भाइरसको संक्रमणबाट देश र देशबासीलाई जोगाउन चैत ११ गतेबाट सुरु भएको लकडाउनको प्रभाव आयात निर्यातमा पूर्ण रुपमा परेको छ भने आयात पनि संकुचित हुँदै गएको छ ।
अहिले नेपालबाट भारत तथा तेश्रो मुलुकमा निर्यात शून्य रहेको छ भने आयात पनि दैनिक आवश्यक वस्तु, औषधी र केही उद्योगका कच्चा सामग्री (कोइला जस्ता) सामान्य रुपमा आएका छन् । देशकै दोश्रो ठूलो भन्सार कार्यालयमार्फत हुने आयात निर्यात पनि अहिले पूर्णरुपमा प्रभावित बनेको छ ।
दैनिक चार पाँच सयको हाराहारीमा मालबाहक ढुवानीका साधनहरु यस नाकाबाट आउने गरेकोमा अहिले दैनिक ८०–१०० मा सिमित भएको छ । त्यस्मा पनि कृषि तथा खाद्य वस्तु अधिक छन् । यी वस्तुबाट न्यून राजस्व संकलन हुन्छ । अधिक राजस्व संकलन हुने इन्धन आयात पनि अहिले निकै न्यून रहेको छ । डिजल, पेट्रोलको खपत अत्यन्त न्यून हुँदा राजस्व कम आउने गरेको हो । लकडाउनका कारण अत्यावश्यक सवारी साधन बाहेक अरु नचल्दा पेट्रोल डिजल खपत कम छ ।
उत एलपिजी ग्यास आयात पनि घटेको छ । पर्याप्त मौज्दात रहेको र सर्वसाधारणले कम्तिमा २ देखि ३ सिलिण्डर (भरी) राख्ने गरेका कारण नया बुलेटबाट ल्याएको ग्यास रिफिल गर्न सिलिण्डर नहुँदा अहिले चैत महिनामा ग्यास आयात बढी भए जस्तो अहिले छैन, कम भएको छ ।
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार वैशाख महिनामा मासिक लक्ष्यको सवा ६ प्रतिशत राजस्व संकलन भएको छ । लकडाउन सुरु भएपछि गत चैत ११ देखि वैशाख २० गतेसम्म ४० दिनमा जम्मा १ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले चैतमा ११ गतेदेखि ३० गतेसम्म ४८ करोड ४५ लाख रुपैयाँ र वैशाख १ बाट २० गतेसम्म ५२ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।
कार्यालयको वैशाख महिनामा मात्रै दैनिक राजस्व असुली लक्ष्य २७ करोड ४३ लाख थियो भने मासिक लक्ष्य ८ अर्ब ५० करोड २० लाख हो । तर अहिले औसतमा जम्मा सवा ६ प्रतिशतले असुली भइरहेको छ ।
भन्सारमा संकलन हुने राजस्व सरकारको मुख्य आम्दानीको श्रोतको करीब २५ प्रतिशत हो ।
“भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७६-०७७ का लागि १ खर्ब ६ अर्ब ८९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । तर अहिलेसम्म ६१ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ५८.४३ प्रतिशत हुन आउँछ ।” सूचना अधिकारी लम्सालले भने ।
अबको बाकी २ महिना र १० दिनमा लक्ष्य पु-याउन नसकिने कार्यालयले जनाएको छ । तत्काल लकडाउन नखुल्ने संकेत आएकाले आयात अझै संकुचित हुँदै जाने कार्यालयको ठहर छ । लकडाउन खुले पनि अवस्था सहज हुन धेरै समय लाग्ने भएकाले लक्ष्य अनुसार राजस्व संकलन नहुने र अर्को वर्षको राजस्व संकलन समेत प्रभावित हुने देखिएको छ ।
लकडाउन अबधिमा बेलहिया नाका हुँदै एलपी ग्यास ४७८, डिजेल १३ ट्यांकर, पेट्रोल ६७ ट्यांकर, खाद्यान्न ११ सय ४३ ट्रक, तेलहन तथा तेल, २१ ट्रक, आलु प्याज, ५ सय २५ ट्रक, तरकारी र फलफूल १४ सय ८७ र अन्य विभिन्न प्रकृतिका सामानहरु (तयारी औषधी, औषधी कच्चा सामग्री, दानाको कच्चा वस्तु, बिस्कुट, जुस, लगायत) गरी कुल ६ हजार २ सय २८ ट्रक वैशाख २० गतेसम्म आयात भएको छ ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।