कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेयता धेरै व्यापार, व्यवसाय बन्द छन् । सरकारले अत्यावश्यक वस्तुको सूची तयार गरी त्यस्ता वस्तु आपूर्ति गर्ने पसल भने खुला गर्न दिएको छ । तर, सुलभ मूल्यमा सहज आपूर्तिका लागि सरकारले गरेको आग्रहविपरीत केही व्यवसायीले नाफाखोर प्रवृत्ति देखाएका छन् ।
यस्ता नाफाखोर व्यवसायीहरूबाट अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५८ लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको छ । लकडाउन अवधिमा खाद्यान्न, माछामासु, सर्जिकल सामग्री र ग्यासमा बढी मूल्य असुल्ने, गुणस्तरहीन सामग्री बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलगायतका कसुरमा उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार व्यवसायीलाई अधिकतम जरिवाना तिराइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
४९ फर्मलाई जरिवाना ३ ले बुझाए
विभागका अनुसार लकडाउनयता १ सय २० फर्ममा अनुगमन भएको छ । त्यसमध्ये ४९ फर्मलाई विभिन्न कसुरमा कारबाही गरिएको छ । विभागका निर्देशक सागर मिश्रका अनुसार कसुर हेरेर ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । अधिकांश फर्मलाई बढी मूल्य लिए। उनका अनुसार १५ वैशाखमा टंगालस्थित भाटभटेनी सुपर मार्केटमा १ सय २० रुपैयाँको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । बढी मूल्य लिएको कसुरमा विभागले ३ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । सो रकम भाटभटेनीले विभाग पुगेर बुझाइसकेको छ ।
त्यसैगरी १६ वैशाखमा सीतापाइलास्थित सेलवेज क्यास एन्ड क्यारीले डेटोलको हात धुने साबुन बढी मूल्यमा बिक्री गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको थियो । सो रकम कम्पनीले विभागमा आएर बुझाएको छ । १७ वैशाखमा इमाडोलस्थित सर्जिकल सामग्री बिक्री गर्ने काठमाडौं टे«डिङमा अनुगमन गर्दा मास्क बढी मूल्य लिएर बिक्री गरेको पाएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको थियो । सो कम्पनीले पनि विभागमा आएर जरिवाना रकम तिरिसकेको छ ।
३ विरुद्ध मुद्दा चल्दै
५ वैशाखमा महाराजगन्जस्थित नेपाल प्रहरीको महालक्ष्मी पेट्रोलपम्पमा पुगेको पेट्रोलमा करिब ५ सय लिटर पानी भेटिएको विषयलाई विभागले सूक्ष्म अनुसन्धान गर्दै छ । त्यसैगरी बलम्बुको धनलक्ष्मी कोल्ड स्टोरले बढी मूल्यमा ग्यास बिक्री गरेको पाएपछि अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
तर, अनुगमनकर्ताले अन्याय गरेको भन्दै पसल सञ्चालकले विभागका महानिर्देशक सुवेदीसमक्ष उजुरी दिएकाले त्यसको पनि अनुसन्धान भइरहेको छ । त्यस्तै, आँखु इन्टरप्राइजेजले ६३ कार्टुन सर्जिकल सामग्रीको कालोबजारी गरेको पाएपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई अनुसन्धानका लागि पठाएको महानिर्देशक सुवेदीले जानकारी दिए ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।