नेपाल राष्ट्र बैंकले कोरोना र लकडाउनको प्रभावबारे गरिरहेको अध्ययनले क्षतिको सही तथ्यांक लकडाउनको अन्त्यपछिमात्र पाउने भएकाले त्यसकै आधारमा असारमसान्तमा मौद्रिक नीति तयारी गर्ने भएको छ । आइतवार भएको बैंक बोर्ड बैठकमा क्षतिको आधारमा मौद्रिक नीति ल्याउने छलफल भएको हो ।
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बुधवार बोर्डको बैठकले थप निर्णय गर्ने बताए । बैंकले प्रारम्भिक अध्ययनका आधारमा राहत प्याकेज ल्याएको उनको भनाइ छ । ‘शुरूको राहत प्याकेज चैत मसान्तसम्मलाई लक्षित थियो । यसपछिको दोस्रो राहत प्याकेज असारमसान्तसम्मलाई लक्षित गरेर ल्याइयो,’ उनले भने, ‘अब लकडाउन सकिएपछि कुन कुन क्षेत्रमा कति क्षति भयो भन्ने आधारमा असारमसान्तमा मौद्रिक नीति ल्याउने तयारीमा लाग्न भनिएको छ ।’
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिले लकडाउन अवधिमा पर्यटन, होटल, वायुसेवा, उद्योगलगायत क्षेत्रमा बेहोर्नु परेको क्षतिबारे अध्ययन गरी कर्जा प्रवाहलगायतको तथ्यांक संकलन गरिरहेको छ । ‘हरेक क्षेत्रमा कोरोना तथा लकडाउनले पारेको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने भएकाले यसबारे काम थालेको हो,’ समितिका संयोजक तथा प्रवक्ता भट्टले भने ।
उक्त समितिमा बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, भुक्तानी फछ्र्योट विभाग र सबै सुपरिवेक्षण विभागका प्रतिनिधि र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल छन् ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।