बैंकिङ खबर । लामो समयको लकडाउनले व्यवसाय बन्द हुँदा बैंकको ऋणमा सबैले सहुलियतको माग गरीरहेका बेला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साँवा–ब्याज तिर्ने समय पर सार्न सकिने तर ब्याज मिनाहा गर्न भने नसकिने बताएका छन् । आज मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा उनले ब्याज मिनाहा गर्न नसकिने स्पष्ट पारेका हुन् । यस्तै, आगामी वर्ष अर्थतन्त्रका लागि निकै चुनौतिपूर्ण हुने अधिकारीले बताएका छन् । उनले रेमिट्यान्समा गिरावट आउने, पर्यटन क्षेत्रमा आय नहुने र वैदेशिक लगानीमा पनि कमि आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताए ।
रेमिट्यान्समा २० प्रतिशतभन्दा बढी गिरावट आउन सक्ने
बैठकमा गभर्नर अधिकारीले रेमिट्यान्समा २० प्रतिशतभन्दा बढी गिरावट आउन सक्ने भएकाले यसले अर्थतन्त्रमा निकै चुनौती थप्ने उल्लेख गरेका थिए ।