Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तेस्रो त्रैमासको रिपोर्टदेखि सावधान !

२०७७ बैशाख २२ गते

वित्तीय विवरणको उद्देश्य नै यसले कुनैपनि संस्थाको वित्तीय चित्र देखाउनु हो । संस्थाको नाफा, नोक्सान, नगद प्रवाह, वासलात र अन्य सम्पूर्ण अवस्थाहरुको सही चित्रण गर्नकै लागि त्यस्ता रिपोर्टहरु प्रकाशित गरिन्छ । यही रिपोर्टकै आधारमा संस्थाले आफ्नो भावी रणनीति बनाउँछ । संस्थाका ऋणीहरुले सो संस्थासँगको ऋण र कारोबारको निर्णय गर्छन् । बजारका लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्ने कि नगर्ने ? भनेर निर्णय समेत गर्छन् । 

अहिले सबै बैंक तथा वित्तीय संस्था तथा अन्य सूचीकृत कम्पनीहरुले समेत प्रत्येक त्रैमास सकिएको एक महिनाभित्र सो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसक्नुपर्ने व्यवस्था छ । अन्यथा नहुने हो भने अबको ८ दिनमा सबै कम्पनीहरुले त्यस्तो रिपोर्ट प्रकाशित गरिसक्नेछन् । तर, ती कम्पनीहरुले जारी गरेको रिपोर्ट हेरेर तपाईँले आफ्नो वित्तीय निर्णय लिनुभयो भने चाहिँ पछुताउनुको विकल्प छैन । यसमा सावधान रहनु जरुरी छ ।

विश्वमै प्रचलित अन्तराष्ट्रिय वित्तीय लेखांकन प्रणाली (आईएफआरएस) लाई पछ्याउँदै नेपालले नेपाल वित्तीय लेखांकन प्रणाली (एनएफआरएस) लागु गर्दै आएको छ । सुरुमा बहुराष्ट्रिय कम्पनीबाट सुरु भएको यस्तो लेखांकन प्रणाली अहिले क्रमशः बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य ठूला संस्थाहरुमा लागु भइसकेको छ । यही प्रणालीको दोषका कारण हामीले चैत महिनाको रिपोर्टमा वास्तविक चित्र देख्न नसक्ने भएका हौं । 

एकछिन बैंक तथा वित्तीय संस्थामै केन्द्रित होऔं । 

चैत महिनामा बैंक तथा वित्तीय संस्थाले उठाउनुपर्ने ब्याजको ६० प्रतिशत रकम उठेको छैन । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममै ४० प्रतिशतको हाराहारीमा मात्रै ब्याज उठेकोले यो त्रैमासमा राम्रो रिपोर्टको अपेक्षा नगर्न सुझाव दिएका थिए । 

हुन पनि कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका कारण सबै क्षेत्र संकटग्रस्त भएको अवस्थामा यसको स्वभाविक असर बैंक तथा वित्तीय संस्थामा परिहाल्छ । ऋण लिएकाहरुको सावाँब्याज तिर्ने क्षमता कमजोर हुँदा यसैमाथि ऋण उठ्ने सम्भावना कम नै हुन्थ्यो । त्यसैले नेपाल राष्ट्र बैंकले चैतमा बुझाउनुपर्ने ऋणको सावाँब्याजलाई अनिवार्य समेत नगरेको हो । चैतमा तिर्नुपर्ने सावाँब्याज असारसम्म तिरे हुने व्यवस्था गरिदिएपछि ऋणीहरु तत्कालका लागि भए पनि ढुक्क भएका छन् । 

तर, बैंकहरुको रिपोर्टमा भने त्यस्तो देखिएको छैन । अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका सबै बैंक तथा वित्तीय संस्थाले उठेका र नउठेका सबै सावाँब्याजलाई एकैठाउँमा राखेर रिपोर्ट सार्वजनिक गरेका छन् । यसले गर्दा उनीहरुको उच्च नाफा देखिएको छ । 

अहिले त कस्तो भइदिएको समेत छ भने यदि चैतमा सावाँब्याज नउठेर शुक्ष्म निगरानी कर्जामा जानुपर्ने रकमलाई समेत असल कर्जाकै रुपमा ‘ट्रिटमेन्ट’ गर्ने छुट बैंकहरुले दिइएको छ । त्यसैले, यो रिपोर्टमा यति ठूलो महामारीका बाबजुद वित्तीय विवरण भने झनै राम्रो देखिएको छ । 

किन हुन्छ त्यस्तो ? 

यसअघि कार्यान्वयनमा रहेको नेशनल एकाउन्टिङ सिस्टम (एनएएस) जति रकम प्राप्त हुन्छ, त्यसलाई मात्रै आम्दानी मानेर नाफा–नोक्सान हिसाब खातामा देखाइन्थ्यो । आउन बाँकी रकमलाई वासलातमा सम्पत्तिको रुपमा उल्लेख गरिन्थ्यो । यसले ब्याज पाकिसकेका तर उठ्न बाँकी रहेका रकमलाई आयव्यय विवरणमा आम्दानीको रुपमा देखाउँदैनथ्यो । यदि त्योे प्रणालीअनुसार वित्तीय विवरण प्रकाशित गरिएको थियो भने यो त्रैमासमा बैंकहरु ‘शुन्य नाफा’को नजिक–नजिक पुग्थे । किनभने, ६ महिनासम्म बैंकहरुले गरेको आम्दानी बाँकी ३ महिनाको खर्चमा जान्थ्यो ।

तर, अहिले जति ब्याज पाकेको छ, त्यो उठ्नुभन्दा अघि नै आयब्यय विवरणमा आम्दानीको रुपमा देखाइदिने प्रचलन भयो । यसबाट ऋण तिर्ने क्षमता गुमाएर वा चाहना नभएर ऋण नतिर्ने ठूलो रकम र त्यसबापत हुने प्रोभिजनिङलाई यसले सम्बोधन नै गर्दैन । 
एकजना चार्टर्ड एकाउन्टेन्ट भन्छन्, ‘अहिले बैंकहरुको वित्तीय विवरण एक्युरल बेसिसमा राखिएको छ, त्यसैले यसमा खासै केही देखिँदैन । चौथो क्वाटरको रिपोर्टमा त्यसको असर देखिन सक्छ ।’

एनएफआरएस प्रणाली आफ्नै विशेषता छन् । ‘नतिजा’ भन्दा ‘कार्यसम्पादन’लाई प्रमुख मानेर यो प्रणालीले वित्तीय लेखांकन गर्छ । सामान्य अवस्थामा यो ठीक पनि हो । तर, देश यति ठूलो संकटमा परेको अवस्थामा र वित्तीय क्षेत्र पनि भित्रभित्रै समस्यामा परिसकेको अवस्थामा बैंकहरुको वास्तविक रिपोर्ट भने उत्साहजनक देखिनुले राम्रो संकेत गर्दैन ।

बैंकर्स संघका अध्यक्ष दाहालले केही दिनअघि भनेका थिए, ‘सबै क्षेत्र निराशाजनक हुँदा बैंकिङ क्षेत्रले मात्रै नाफा कमायो भनेर देखिनु आफैंमा अस्वाभाविक पनि हुन्छ ।’ तर अहिले अवस्था त्यस्तै भएर आइदिएको छ । उठ्दै नउठेको रकमलाई आम्दानी देखाएर बैंकहरु अरबौं नाफा गरेको वित्तीय विवरण निकालेर बसिरहेका छन् । 

यो लेखको आशय एनएफआरएस सिस्टमको विरोध गर्नु होइन । न त यो सिस्टमलाई छाडेर फेरि पुरानै प्रणालीमा फर्किनुपर्छ भन्ने नै । तर, वित्तीय रिपोर्टले देखाउनुपर्ने वास्तविक चित्र कहिँ कतैबाट धुमिल हुनु हुँदैन । वित्तीय विवरणलाई गलत तरिकाले बुझेर कारोबार गर्दा भविष्यमा आउने जोखिमलाई कम्तीमा पनि नियामकले मनन गरेर आवश्यक कदम चाल्नुपर्छ भन्ने हो । 

साथै, सबैलाई आह्वान, सावधान ! चैत महिनाको उत्साहजनक रिपोर्टको ‘ललिपप’मा फसेर कुनैपनि निर्णय नगर्नुहोला । 

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।

Ad