बैंकिङ खबर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरसका कारण सिर्जित विशेष परिस्थितिमा व्यवसायी तथा सरोकारवालाहरुले सञ्चार तथा सूचनासम्बन्धी नवीन प्रविधिको प्रयोग र प्रवद्र्धन गर्ने बारेमा विशेष पहल गर्नु पर्ने बताएका छन् ।
कम्प्युटर एशोशिएशन नेपाल (क्यान महासंघ)ले राष्ट्रिय सूचना प्रविधि दिवस २०७७ (नेशनल आईसीटी डे २०२०) को अवसरमा सनिबार आयोजना गरेको ‘गो डिजिटल – गो क्याशलेस’ वेबिनारमा बोल्दै उनले सरकार र यस क्षेत्रका व्यवसायीका लागि क्याशलेस प्रणाली प्रवद्र्धनका लागि यो एउटा अवसर पनि भएको बताए । ‘सम्पूर्ण विश्व अहिले व्यवसाय, शिक्षा, व्यापार र स्वास्थ्य समेत अनलाईनबाटै सञ्चालन गरिरहेको छ । त्यसैले यो नयाँ प्रणाली विकासका लागि उपयुक्त अवसर हो,’ कुँवरले भने ।
कार्यक्रममा सूचना प्रविधि बिभागमा महानिर्देशक प्रेमशरण श्रेष्ठले नेपाल सरकारको तर्फवाट माननीय संचार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले र मन्त्रालयका सचिव दीपक सुवेदीले दिनुभएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।
कोरोनाभाइरसबाट सिर्जित यस संकटको घडीमा तीनै तहका सरकारलाई सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि व्यवसाय विकास तथा प्रवद्र्धनको वातावरण निर्माण गर्न र यस क्षेत्रमा स्वदेशी व्यवसायी तथा उद्यमीहरुको क्षमता अन्तरराष्ट्रिय स्तरको रहेकाले सरकारले खरीद गर्ने सञ्चार तथा सूचना प्रविधिसम्बन्धी सेवामा नेपाली व्यवासायी तथा कम्पनीहरुलाई विशेष प्राथमिकता दिन पनि कुँवरले अनुरोध गरेका छन् ।
वेबिनारमा बोल्दै राष्ट्र बैंकका निर्देशक सुवास घिमिरेले नेपालमा डिजिटल पेमेण्टको विकास र प्रवद्र्धनलाई केन्द्रीय बैंकले प्राथमिकता दिएको बताए । नियामक निकायले प्रविधिको विकास र व्यवसाय सञ्चालनका लागि वातावरण निर्माण गर्ने र मूल्य तोक्ने कार्य बजारलाई छाडिदिनु पर्ने धारणा उनले राखेका थिए ।
तर डिजिटल पेमेण्टको कारोबार गर्ने अनुमतिप्राप्त संस्थाले प्रणालीमा खराबी आउन नदिन विशेष ध्यान दिनु पर्छ, उनले भने । उनका अनुसार क्याशलेस पेमेण्टको प्रणालीमा खराबी आउँदा वित्तीय स्थायित्वमै असर पर्न सक्छ ।
वेबिनारमा शुभकामना सन्देश दिंदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिले विश्व डिजिटलाइजेशनमा गइरहेको अवस्थामा नेपालमा पनि तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा अगाडी बढ्नु पर्ने बताए । नेपालजस्तो भौगोलिक बनावटले बनेको देशको समृद्धिको एकमात्र विकल्प सूचना प्रविधि नै रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीका सूचनाप्रविधि सल्लाहकार अस्गर अलीले सरकारले क्याशलेस प्रणालीलाई अझ सरल र सबल बनाउन काम गरिरहेको बताए । उनले यस प्रणालीका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा चर्चा गरेका थिए ।
नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले क्याशलेस प्रणाली स्थापना गर्न एनएचसीएलले योगदान दिएको बताए ।
बैंकर एशोसिएशन नेपालका आईसीटी कमिटिका अध्यक्ष नारायण प्रकाश भुजुले क्याशलेस प्रविधिको विस्तारका लागि स्थानीय तहमा प्रवद्र्धन र क्षमता विकासका कार्य गर्नु पर्ने सुझाव दिए ।
विगतका वर्षमा आईसीटी डेमा प्रभातफेरी, प्रदर्शनी, रक्तदान, सम्मेलन तथा गोष्ठी र चेतनामूलक कार्यक्रमलगायत गतिविधिहरुको आयोजना हुने गरेकोमा यो वर्ष विभिन्न डिजिटल कार्यक्रमहरु गरिरहेको क्यान महासंघका महासचिव नारायण थापाले बताए ।
करीब ८ सय जना सहभागी सो कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, सूचना विभागका निर्देशक प्रेमशरण श्रेष्ठ, क्यान युएसएका अध्यक्ष विद्या सुवेदी, संस्थापक अध्यक्ष विमलकुमार शर्माले दिवसको अवसरमा शुभकामना दिएका थिए ।
क्यान महासंघले ‘गो डिजिटल–गो क्याशलेस’ भन्ने नाराका साथ साताब्यापी रुपमा वेबमा आधारित विभिन्न सम्मेलन तथा गोष्ठीहरुको आयोजना गरेर आईसीटी डे मनाउने योजना बनाएको उनले बताए । जसमा डिजिटल लर्निङ, अनलाईन कार्य, अनलाइन सुरक्षा र ई–हेल्थ जस्ता विषयमा छलफल तथा अन्तक्र्रियाहरु मे महिना भरी आयोजना हुनेछन् ।
क्यान महासंघले आईसीटी डेको अवसरमा आयोजना गर्ने साताब्यापी अभियानको यो पहिलो कार्यक्रम हो । वेबिनारको सञ्चालन नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले गरेका थिए भने महासंघका उपाध्यक्ष खुसल रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए ।
क्यान महासंघले एक दशकदेखि आईसीटी डे मनाउँदै आएकोमा सन २०१७ मा सरकारले यसलाई आधिकारिक दिवसको रुपमा मान्यता दिएपछि यसलाई सन् २०१८ मे २ मा पहिलो पटक नेपाल सरकारको अगुवाईमा मनाइएको थियो ।
