Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कारोबार अवधि र सर्किट ब्रेकरको सीमा घटाएर भए पनि बजार खुलाउने पक्षमा बोर्ड र नेप्से

२०७७ बैशाख १७ गते

वैशाख २६ गतेपछि लकडाउन खुकुलो भएमा २८ गतेदेखि सेयर बजार खुलाउने तयारीमा रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोर्ड, नेप्से, ब्रोकर र सिडिएसीबीच बसेर कसरी बजार खोल्ने भन्ने विषयमा छलफल गरिरहेको उनीहरूले बताए । 

कारोबार अवधि घटाएर, सर्किट ब्रेकर परिवर्तन गरेर, मेरो सेयर नवीकरण गर्नुपर्नेहरूको स्वतः नवीकरण गर्ने विषयमा छलफल भएको साउदले बताए । नेप्सेले २६ गतेपछि बजार खुल्न सक्ने भन्दै आ–आफ्ना क्षेत्रबाट तयार रहन निर्देशन दिएको समेत उनले बताए । लामो समय पुँजी बजार बन्द गर्न नहुने भन्दै उनले आंशिक रूपमा भए पनि बजार खुलाउने र त्यसका लागि सरकारसँग पनि राय मागेको उनको भनाइ थियो । 

बोर्डका अध्यक्ष ढुंगानाले अनलाइनले पूर्ण रूपमा ट्रेडिङ गर्न नसकेका कारण अहिले सेयर कारोबार गर्न नसकेको बताए । ‘अहिलेको अनलाइनले खरिद र बिक्री भएपछि ट्रेडको म्याचिङ हुन्छ,’ उनले भने, ‘सेयर ट्रान्सफर गर्ने इडिआइएस ब्रोकरले चलाए पनि कुनै कारोबार बैंकसँग इन्ट्रिग्रेसन हुन सकेको छैन, इन्ट्रिग्रेसनको भए हामीले लकडाउनको समयमा पनि सेयर कारोबार गर्न पाउने थियौँ ।’ अनलाइन कारोबारका लागि बैंक इन्ट्रिग्रेसन हुनैपर्छ । त्यसका लागि धितोपत्र बोर्डले लकडाउन हुनुभन्दा अगाडि नै टेक्निकल कमिटी बनाएको र लकडाउनका कारण त्यो कमिटीले काम गर्न नसकेको उनको गुनासो छ ।

सेयर बजार खोल्ने विषयमा सरोकारवाला निकायसँग छलफल भइसकेको र अब सबै निकायमा समन्वय गरेर बजार खोल्न सकिने बताए । कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले एक महिनाभन्दा बढी बजार बन्द हुनु राम्रो नभएको भन्दै खुलाउनुपर्ने बताए । 

कारोबारको समयावधि र सर्किट ब्रेकरका सन्दर्भमा केही विचार गरेर भए पनि बजार खुलाउनुपर्ने उनले बताए । ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले समय घटाएर भए पनि कारोबार गर्ने तयारीमा सम्बन्धित निकाय सबै लागिपरेको बताए ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad