Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कठिन अवस्थामा बजेट बनाइरहेका छौँ : अर्थमन्त्री

२०७७ बैशाख १२ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले जोखिमबीच अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७७-७८ को बजेट निर्माण गरिरहेको बताएका छन् । बिहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले कोरोना महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बाबजुद सरकारले बजेट निर्माण गरिरहेको बताए ।

‘१५ जेठमा बजेट ल्याउनुपर्ने हाम्रो संवैधानिक व्यवस्था छ । सोहीअनुसार सरकारको संघीय संसद्मा बजेट प्रस्तुत गर्नैपर्छ,’ उनले भने, ‘तर, लकडाउनका कारण आय–व्ययको अनुमान गर्न गाह्रो छ, आवश्यक प्रत्यक्ष छलफल गर्न सकिएको छैन ।’ लकडाउनका बाबजुद पनि सबै मन्त्रालयका बजेटमा काम गर्ने कर्मचारीहरूले कठिन परिश्रम गरिरहेको र जोखिममै भए पनि बजेट तयारीको काम अघि बढिरहेको उनले बताए । 

अहिले दुई चरणमा काम भइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट तत्कालै परेको असरको कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा केन्द्रित रहेर काम भइरहेको उनले बताए । दोस्रोचाहिँ विश्वका अधिकांश मुलुकको वृद्धिदर २ प्रतिशतभन्दा तल रहने प्रक्षेपणहरू आइरहेका वेला नेपालको चाहनाअनुसार उच्च आर्थिक वृद्धिदर कसरी हासिल गर्न सकिन्छ भनेर मध्यकालीन तथा दीर्घकालीन दृष्टिकोण र बजेट बनाउनेमा केन्द्रित भएको उनले बताए ।

लकडाउनका कारणले आर्थिक क्रियाकलापमा प्रभावित हुँदा राजस्वको संकलन अपेक्षाकृत हुन नसकेको तथा खर्च गर्ने क्षमतामा पनि बाधा आएको उनले बताए । यस्तो अवस्थामा एकातिर स्रोत थपेर बजेट निर्माण गर्नुपर्ने र अर्कातर्फ महामारी र लकडाउनले अर्थतन्त्रमा परेको प्रतिकूल असरलाई पुनर्ताजगीकरणका लागिसमेत स्रोत थप्नुपर्ने अवस्था रहेको उनले बताए ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad