सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि गरेको लकडाउनपछि तरलताको समस्या आउनसक्ने भन्दै सहकारी संघसंस्था व्यवस्थापनमा जुटेका छन् । लकडाउन खुलेसँगै बचत फिर्ता लिन आउने सदस्यको चाप बढ्ने भएकाले रकम अभाव हुने भन्दै यसका लागि सहकारी संघसंस्थाहरू छलफलमा जुटेका हुन् ।
राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा वित्तिय कारोबार गर्ने सहकारी संंघ संस्थाका लागि लक्षित गरी विपत् तरलता व्यवस्थापन कोष स्थापना गर्ने विषयमा छलफल भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण उपत्पन्न भएको विषम परिस्थितिमा वित्तीय कारोबार गर्ने सहकारी संघ÷संस्थाले पु¥याएको सेवा तथा आगामी दिनमा आउन सक्ने चुनौती र त्यसको समाधानका विषयलाई लिएर महासंघमा छलफल भएको थियो । छलफलमा वित्तीय कारोबार गर्ने संघसंस्थाहरूले रकम राखेर महासंघमा कोष बनाउने र त्यसबाट तरलताको अभाव हुने संस्थाहरूलाई सापटी दिने तयारी गरिएको छ ।
यसअघि नै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले १० करोड रुपैयाँको कोष निर्माण गरिसकेको छ । अहिले सहकारी संस्थाहरूले ५ प्रतिशत भन्दा पनि कम तरलता राखेर संस्था सञ्चालन गर्दै आएका थिए । कोरोनाभाइरसको संक्रमणको त्राससँगै आर्थिक कारोबारमा मन्दी आउदा संस्थाहरूले लकडाउन अघिदेखि नै सदस्यको मागअनुसार बचत फिर्ता दिन सकेका छैनन् । लकडाउनको अवधिमा निश्चित सीमासम्ममात्र बचत फिर्ता गर्दै आएका छन् ।
हाल नेपालमा ३५ हजार सहकारी दर्ता भएकोमा १४ हजार बचत तथा ऋण सहकारी छन् । अन्य विषयगत सहकारीहरूले पनि बचत तथा ऋण कारोबार गर्दै आएका छन् । सहकारीहरूले अवलम्बन गरिएको पल्स मनिटरिङ सिस्टममा संस्थाहरूले न्यूनतम १४ प्रतिशत तरलता कायम गर्नुपर्छ । तर, अधिकांश सहकारीहरूले यसअनुसार तरलता व्यवस्थापन गरेका छैनन् ।
कोरोनाको महामारीले बचत संकलन कम हुने र रकम झिक्नेको सदस्यको चाप बढी हुने भएकाले तरलता बलियो बनाउन संघहरू छलफलमा जुटेका हुन् । महासंघको छलफलमा वित्तिय कारोबार गर्ने संहकारीहरूले लकडाउनको अवधिमा सदस्यलाई दिइएको सेवा सुविधाका विषयमा समेत छलफल भएको थियो । साथै सदस्यहरूमा जनचेतना जगाउने, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई सहयोग गर्ने र विपन्न सदस्य तथा समुदायलाई राहत दिनेदेखि सरकारी कोषमा रकम जम्मा गर्ने कार्यमा सहकारीहरू क्रियाशिल रहेकोमा महासंघका सञ्चालक केबी उप्रेतीले जानकारी दिए ।
विषम परिस्थितिमा सहकारीको सहकारीको भूमीका प्रशंसनीय भएको भन्दै महासंघका अध्यक्ष मीनराज कँडेलले वित्तीय क्षेत्रका सहकारीहरूले एक आपसमा मिलेर र सरकारसँगसमेत अनुरोध गरेर तरलता व्यवस्थापर्ने गर्नका लागि छलफल गरेको उल्लेख गरे ।
छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी, महासंघका सञ्चालक डिबी बस्नेत, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्का लगायतले समयमै तरलता व्यवस्थापन कोष बनाउन सुझाव दिएका थिए ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।