नेपाल आयल निगम ऋणमुक्त भएको छ । पेट्रोलियम पदार्थ आयातमा एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको संस्थान नेपाल आयल निगम १४ वर्षपछि बल्ल ऋणमुक्त भएको हो । निगमले आइतबार अर्थ मन्त्रालयलाई ८० करोड ऋण र ६१ करोड रुपैयाँ ब्याज भुक्तानी गरेपछि ऋणमुक्त भएको हो । निगमले आर्थिक वर्ष ०७०/७१ सम्म लिइएको ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण चुक्ता गरेको हो ।
०७१ असोज १३ मा डिजेल, पेट्रोल र मट्टीतेलमा स्वचालित मूल्य लागू गरिएसँगै निगम निरन्तर नाफामा गएको छ । अन्तरराष्ट्रिय बजारमा मूल्य घटेअनुरूप नेपालमा मूल्य समायोजन नहुँदा निगमको नाफा उच्च छ । निगमले ०७१ माघदेखि नै ऋण तिर्न सुरु गरेको थियो ।


