सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले कोरोनाका कारण नेपालको बैंकिङ क्षेत्रमा समस्या आएमा त्यसको असर सहकारीमा पनि देखिने बताएका छन् । बैंक र सहकारीको कारोबार जोडिएकाले बैंकिङ समस्याबाट सहकारी क्षेत्र अछुतो नरहने उनको दावी छ ।
सहकारी पत्रकार समाजले गरेको भिडियो कन्फरेन्समा रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी नगरी वाणिज्य बैंकमा राख्दा बैंकमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या आउने बताए । “अहिले सहकारीको पैसा सहकारीमा छैन, वाणिज्य बैंकमा छ, बैंक समस्यामा पर्दा सहकारी पनि समस्यामा पर्छन्,” उनले भने ।
रजिष्ट्रार पाण्डेले आगामी दिनमा सहकारी क्षेत्रले पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले भने, “उक्त विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव पनि पेश गरेका छौं । अब सहकारीले सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा नदिने हो भने सहकारीमा तरलताको चरम अभाव हुनेछ ।”
छलफलमा पाण्डेले सदस्यहरूले समस्या परेको समयमा गर्जो टार्नका लागि बचत गरेको भएकाले त्यो बचत बचतकर्ताले चाहेको समयमा पाउन सक्ने बाताबरण बनाउनु पर्ने बताए । यसैगरी सहकारी संस्थाले सदस्यलाई ऋणको व्याजमा सहुलियत दिनुपर्ने उनले बताए ।
छलफलमा सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले कोरोनाका कारण कृषि क्षेत्रमा असर परेको उल्लेख गरे । कोल्डस्टोरको अभावमा कृषि सहकारीका सदस्यले उत्पादन गरेको तरकारी खेर भन्दै संघहरूले बजारिकणमा सहयोग गरेको उनले जानकारी दिए । अध्यक्ष कँडेलले कृषकलाई मल, बीउ नपाउने समस्या रहेको भन्दै यो समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताए । सहकारीले सदस्यलाई सेवा दिन खोजे पनि पास अभावको कारण समस्या भएको भन्दै केही सहकारीहरूले सेवा केन्द्रमार्फत सेवा दिइरहेको बताए । सहकारी संस्थाहरूले ब्याजदरका साथै समग्र सहकारीको क्षेत्रमा सहुलियत दिनको लागि सहकारी अभियान, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग बसेर छलफल गर्ने बताए ।
सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरू आएर धमाधम बचत निकाल्न थालेको खण्डमा कस्तो अवस्था आउने हो त्यसमा सबै अहिले नै सचेत हुनुपर्ने बेला आएको बताए । अबका दिनका सहकारी संस्थाहरू पूर्ण रुपमा प्रविधिमैत्री बन्नु पर्ने आवश्यकता देखिएको जानकारी दिए ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।