विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न देशैभर लकडाउन गरिए पनि त्यसको असर बैंकिङ क्षेत्रमा भने देखिएको छैन । लकडानको अवधिमा बैंकहरूले बैंकिङ सेवालाई जारी राखेका छन् भने निक्षेप तथा कर्जा परिचालन पनि उत्साहजन रहेको देखिन्छ ।
सरकारले गत चैत ११ देखि कोरोना संक्रमण नियन्त्रणका लागि देशैभरी लकडाउन गरेको हो । तर, बैंकहरूले चैत महिनामा मात्र ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । गत फागुन महिनामा नै बैंकहरूबाट करिब २६ अर्ब रुपैयाँ निक्षेप झिकिँदा पनि ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरूले नयाँ कर्जा प्रवाह नगरेको भए पनि पुराना कर्जाको लिमिट भुक्तानी दिनुपर्दा कर्जा बढेको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेलले बताए । “लकडाउनको अवस्थामा अन्य संघसंस्थाले कर्मचारीलाई तलब दिनका लागि पनि बैंकहरूबाट ओभरड्राफ्ट लिएको कारणले पनि कर्जा बढेको हुनसक्छ,” उनले भने, “आर्थिक गतिविधिवाट आफ्नो पेशा व्यवसायबाट हुने आम्दानी करीब ठप्प भएपछि बैंकहरूमा ओभरड्राफ्ट केही बढेको हुनसक्छ ।” त्यसैगरी बैंकहरूले चैत मसान्तसम्ममा ग्राहकलाई भुक्तानी गर्ने ब्याज पनि बैंकमा नै भएको हुनाले निक्षेपमा समेत सुधार आएको उनको भनाइ छ । चैत महिनामा ४९ अर्बको निक्षेप थपिनुमा बैंकिङ प्रणालीबाट निक्षेपकर्तालाई दिइने प्रतिफल पनि बैंकमा नै रहेको उनको बुझाइ छ ।
लकडाउनको अवधिमा बैंकवाट पैसा झिकिन्छ भनिए पनि अतिआवश्यक भएको अवस्थामा मात्र पैसा झिकिएको अवस्था रहेको उनले बताए । सामान्य कारोबारका बैंक आउने अवस्था पनि नभएको हुनाले धेरै नझिकिएको हुन सक्छ । सरकारले बैंकिङ क्षेत्रलाइ भने अतिआवश्यकीय क्षेत्र भन्दै सेवा प्रवाह गर्न अनिवार्य गराएको छ । तर, अतिवआश्यकीय क्षेत्रवाट दैनिक जीवनका लागि खासै पैसा झिकिएको अवस्था छैन । बरु झनै लकडाउनको समयमा बैंकहरूमा निक्षेप वढेको छ । यसकारे अर्को कारण भनेको लकडाउनभन्दा अघि कुनै पनि संघसंस्थाले जारी गरेको चेक तथा कारोबार स्थगतीत भएकाले पनि बैंकिङ प्रणालीमा पैसा रहेको विश्लेषण गरिन्छ ।
चैत महिनामा बैंकहरूले ४९ अर्ब निक्षेप बढाएर हालसम्म कुल ३१८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यसैगरी ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका यो अवधिसम्ममा बैंकहरूको कुल कर्जा प्रवाह २८ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।