नेपालबाट पैसा पठाउन नपाउँदा विदेशमा रहेका, पढाइ पूरा गरेर पनि स्वदेश नफर्किएका विद्यार्थी र घुम्न गएका नेपाली अलपत्र परेका छन् । कोभिड–१९ भाइरस संक्रमणका कारण सरकारले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि यस्तो समस्या देखिएको हो ।
पैसा अभाव भएपछि त्यहाँ बस्नखान पनि समस्या भएको उनीहरुका आफन्तले बताएका छन् । उनीहरुका लागि पैसा पठाउने व्यवस्था गरिदिन विदेशबाट पीडित आफै तथा स्वदेशबाटै उनीहरुका आफन्तले आग्रह गरिरहेको राष्ट्र बैंकले बताएको छ । ‘दिनहुँ दर्जनभन्दा बढी त्यस्ता फोन आउँछन्,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख बमबहादुर मिश्रले भने, ‘चाहेर पनि उनीहरुलाई सघाउन सक्ने अवस्थामा छैनौं ।’
नो अब्जेक्सन लेटर (एनओसी) लिएर अध्ययनका लागि गएका विद्यार्थीलाई तोकिएको सीमाभित्र रहेर पैसा पठाउन समस्या छैन । बैंकहरुबाट सजिलै पठाउन सकिन्छ । तर एनओसी नभएका र अध्ययन पूरा भइसकेका विद्यार्थीलाई यहाँबाट पैसा पठाउन मिल्ने व्यवस्था नभएको मिश्रले बताए । ‘घुम्न, काम गर्न गएका र अध्ययन पूरा गरेर पनि नेपाल नफर्किएका विद्यार्थीलाई नेपालबाट पैसा पठाउन पाइँदैन,’ उनले भने, ‘अफ्रिका, फ्रान्सलगायत थुप्रै देशबाट पैसा पठाउने व्यवस्थाको माग गर्दै टेलिफोन आइरहेका छन् ।’
कोरोनाका कारण अधिकांश देश लकडाउनमा छन् । यसकारण त्यहाँ धेरैले काम पाएका छैनन् । काम पनि नहुने र पैसा पनि नहुँदा विदेशमा समस्या भएको गुनासो आइरहेको राष्ट्र बैंकले जनाएको छ । खर्चको अभावमा विदेशमा विद्यार्थीहरु अलपत्र परेपछि तीन साताअघि सरकारले एनओसी नभएकालाई पनि पैसा पठाउन उनीहरुका घरपरिवारलाई अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले विदेशमा अध्ययनरत एनओसी नभएका विद्यार्थीहरुलाई पैसा पठाउन पाइने व्यवस्था गरेको छ । जसमध्ये विद्यार्थीहरुका आफन्तले प्रतिविद्यार्थी ५ सय अमेरिकी डलर पठाउन पाउँछन् । यसअनुसार विदेशमा रहेका विद्यार्थीका आफन्तले वाणिज्य बैंकबाट सीधै पैसा पठाउन पाउँछन् ।
सुरुमा साइप्रसमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्र बैंकले पैसा पठाउन मिल्ने व्यवस्था गरिएको थियो । साइप्रसमा मात्र करिब १ हजार विद्यार्थी एनओसीबिनै अध्ययन गरिरहेको तथ्यांक राष्ट्र बैंकसँग छ । त्यसका आधारमा पैसा पठाउन मिल्ने व्यवस्था गरियो । त्यसको दुई दिनपछि राष्ट्र बैंकले सो व्यवस्था परिमार्जन गरी एक पटकका लागि सबै राष्ट्रमा अध्ययनरत विद्यार्थीका लागि उक्त सुविधा दिइएको छ ।
यो विदेशी मुद्रा सटही सुविधा मात्र हो । कोरोनाका कारण विभिन्न देशमा रहेका विद्यार्थी प्रभावित भएपछि दैनिक गुजराका नेपालबाट पैसा पठाउने सुविधा दिइएको हो । एनओसी लिएर अध्ययनका लागि विदेश गएका विद्यार्थीलाई पैसा पठाउन पाउने सुविधा यसअघि नै थियो । तर एनओसी नभएका विद्यार्थीलाई पैसा पठाउन पाइने व्यवस्था थिएन ।
सामान्य अवस्थामा एनओसी सुविधा नलिई विदेशमा अध्ययन गर्न पाइँदैन । तर साइप्रसका केही कलेजमा एनओसी नलिएका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् । ती विद्यार्थीलाई लक्ष्य गरी राष्ट्र बैंकले विदेशमा पैसा पठाउन पाइने नयाँ व्यवस्था गरेको हो । एक पटकका लागि भन्दै राष्ट्र बैंकले दिएको सुविधा पनि पर्याप्त नभएको भन्दै साइप्रसमा रहेका विद्यार्थीले आफूहरुलाई नेपाल लैजान माग गर्न पनि थालेका छन् । नेपालबाट पठाएको ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ)ले लामो समय खर्च पुर्याउन गाह्रो भएकाले उनीहरुले स्वदेश फिर्ताको माग गरेका हुन् ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।