Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२०७६ : सेयर बजारमा नीतिगत सुधारको वर्ष

२०७७ बैशाख ३ गते

२०७६ सालमा सेयर बजारमा धेरै उतारचढाव आयो । लामो समयसम्म ११ बिन्दुको वरिपरि घुमिरहेको नेप्से सूचक फागुनमा निरन्तर बढेर १६ सय ३२ बिन्दुसम्म पुगेको थियो । त्यसवेला लामो समयपछि लगानीकर्ताले सेयर बजारबाट लाभ लिन पाएका थिए । सेयर बजारमा कारोबार रकम पनि दैनिक ३–४ अर्ब नाघ्न थालिसकेको थियो । तर, लगानीकर्ता नाफा बुकिङमा लाग्दा नेप्से त्यो बिन्दुभन्दा जान सकेन । फेरि छोटो समयमै नेप्से उच्च अंकले घटेर १२ सय ५१ बिन्दुमा ओर्लियो । 

चीनबाट फौलिएको कोरोना भाइसका कारण लगानीकर्ता आत्तिएर सेयर बिक्री गर्न थाले । उक्त भाइरस नेपालमा समेत देखिन थालेपछि चैत १० गतेदेखि सेयर कारोबार बन्द छ । 

अघिल्ला वर्षहरूभन्दा गत वर्ष सेयर बजारमा नीतिगत सुधार पनि धेरै भएको छ । सरकारदेखि नियामक निकायले पुँजी बजार विकासका लागि नीतिगत व्यवस्थाहरू ल्याएका थिए । लगानीकर्ताले पुँजी बजार विकासका लागि ५८ बुँदे माग राखेका थिए । नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएसँगै कतिपय मागहरू पूरा भएका छन् । 

लगानीकर्ताले माग गर्दै आएको अनलाइन कारोबार पनि यस वर्ष एक वर्ष पूरा भएको छ । नेप्सेले पूर्ण अनलाइन कारोबार गर्न सक्षम सिस्टम बनाए पनि लगानीकर्ता भने यसमा अभ्यस्त हुन सकेका छैनन् । नेप्सेले सञ्चालनमा ल्याएको अनलाइमा बैंक खाता इन्टिग्रेट गरेकोे छैन् । केन्द्रीय सेयर कारोबार राफसाफ गर्न ब्रोकर कार्यालय नै धाउनुपर्ने बाध्यता अझै छ । त्यसैले पनि लगानीकर्ता अनलाइन प्रणालीप्रति उत्सुक देखिएका छैनन् । 

ब्रोकर कम्पनीले लगानीकर्तालाई मार्जिन कर्जाको सुविधा दिन थालेका छन् । तर, यसमा पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकबाट सेयर कर्जा लिन सजिलो र कम ब्याजदरमा पाइन्छ भने ब्रोकरको ब्याजदर बैंकको भन्दा महँगो र लिन झन्झटिलो भएको गुनासो लगानीकर्ताको छ ।   

 एक वर्षमा नेप्से सूचकको अवस्था

अघिल्लो वर्ष २०७५ चैत २८ गते नेप्से सूचक १ हजार १ सय ८४ दशमलव शून्य २ बिन्दुमा थियो । गत वर्ष २०७६ चैत ९ गते नेप्से सूचक १ हजार २ सय ५१ दशमलव ४५ बिन्दुमा आइपुगेको छ । एक वर्षको अवधिमा नेप्से सूचक ६७ दशमलव ४३ अंकले मात्र वृद्धि भएको छ । तर, २०७६ सालमा सेयर बजार साढे दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो ।

नेप्से सूचक हालसम्मकै उच्च १८ सय ८१ बिन्दुमा पुगेका वेलामा सेयरमा लगानी गरेकाहरूले यस वर्ष लगानीको रकम उठाउन सफल भए । साढे तीन वर्षमा लगानीकर्ताले कम्पनीबाट पाएको बोनस सेयर, नगद लाभांश र हकप्रद सेयरबाट आफ्नो लगानी गत वर्ष उठाउन सकेका छन् । 

०७३ साल साउन १२ गते हालसम्मकै उच्च १ हजार ८ सय ८१ दशमलव ४५ बिन्दुमा पुगेको नेपाली सेयर बजार सोपछि हालसम्म सो बिन्दुमा पुग्न सकेको छैन । ३१ महिनापछि सेयर बजार ०७६ साल फागुन १५ गते १ हजार ६ सय ३२ दशमलव १७ बिन्दुसम्म पुग्न सकेको थियो । त्यसअघि सो बिन्दुमा ०७४ साउन ३२ गते मात्र पुगेको थियो ।

 कारोबार रकम र सर्किट ब्रेकरले इतिहास रचेको वर्ष

गत वर्ष कारोबार रकम र सर्किट ब्रेकरले नयाँ इतिहास रचेको छ । नियमित कम्पनीहरूकै ४ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । सेयर बजार बढेपछि लगानीकर्ता अनलाइन कारोबारमा सक्रिय हुँदा कारोबार रकम बढेको नेप्सेले बताएको छ । हालसम्म नेपाली सेयर बजारमा नियमित कम्पनीहरूको यति ठूलो रकमको कारोबार भएको थिएन । 

गत वर्ष नेप्सेले सर्किट ब्रेकरको नियम परिवर्तन गरेको छ । नयाँ प्रणालीको सर्किट ब्रेकअनुसार पहिलोपटक ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । पहिले पहिलो घन्टामा सूचक ३ प्रतिशतले घटबढ भए १५ मिनेट, त्यसपछि दोस्रो घन्टामा ४ प्रतिशतले घटबढ भए आधा घन्टा र ५ प्रतिशतले घटबढ भए त्यस दिनको कारोबार नै स्थगित हुने व्यवस्था गरेको थियो । अहिले नयाँ प्रणालीअनुसार कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ ।

त्यस्तै, दोस्रो घन्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ । र, तेस्रो घन्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकी पूरै दिनको कारोबार स्थगित हुनेछ । यस नियमअनुसार गत वर्षमा एकै दिनमा तीनपटकसम्म नकारात्मक सर्किट ब्रेक लागेको छ । 

२०७६ सालमा नेप्सेको उतारचढाव

  मिति                          नेप्से सूचक                 अवधि

२०७५ चैत २८ गते           ११८४.०२             अघिल्लो वर्षको अन्तिम दिनको बिन्दु
२०७६ वैशाख २ गते         ११८८.७१             गत वर्षको पहिलो दिनको बिन्दु
२०७६ मंसिर १० गते        ११०९.१६              गत वर्ष सबैभन्दा न्यून बिन्दु
२०७६ फागुन १५ गते      १६३२.१७             गत वर्ष सबैभन्दा उच्च बिन्दु
२०७६ चैत ९ गते            १२५१.४५             गत वर्षको अन्तिम दिनको बिन्दु

पुँजी बजार विस्तारका लागि आवश्यक कुरा

 – एनआरएनलाई एउटा विधि बनाएर नेपालको पुँजी बजारमा भित्रायाउने
 – बैंकहरूमा ब्याजदरको सीमा तोक्ने
 – मार्केट मेकरको व्यवस्था गर्ने 
 – १ वर्षभन्दा बढी सेयर होल्ड गर्नेलाई लाभांश कर छुट गर्ने र लामो अवधिको लगानीलाई प्रोत्साहन गर्ने ।

सेयर बजारमा भएका सुधार

  •  स्टक डिलर ल्याउने तयारी अघि बढेको
  •  बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी
  •  ब्रोकरबाट मार्जिन कर्जा सुरु
  •  पुँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा आएको वर्ष
  •  धितोपत्रका चारवटा नियमावलीको संशोधन (धितोपत्र व्यवसायी नियमावली २०६४, सामूहिक लगानी कोष २०६७, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ र धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर  नियमावली २०६४) 
  •  सर्किट ब्रेकरको नयाँ व्यवस्था
  •  सेयर कारोबार हुने समय ४ घन्टाबाट ५ घन्टा पु-याएको
  •  खुलामुखी सामूहिक योजना सुरु 
  •  जलविद्युत् कम्पनीले सेयर निष्कासन गर्नुपूर्व विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने
  •  सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय निवारणसम्बन्धी २०७६ निर्देशिका जारी
  •  दोस्रो बजारमा ऋणपत्रको कारोबार 

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad