Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जेठदेखि ऋणको ब्याज घटाउने बैंकहरूको गृहकार्य

२०७६ चैत्र ३० गते
वाणिज्य बैंकहरूले यस पटक सूचना जारी गरेरै सबै ऋणीका लागि ब्याज कम गर्न लागेका हुन्
०७७ जेठ १ देखि ऋणको ब्याज (नयाँ–पुराना सबै) घट्ने भएको छ । वैशाख १ देखि निक्षेपको ब्याज घटाएका वाणिज्य बैंकले जेठदेखि ऋणको ब्याज पनि घटाउन लागेका हुन् ।

बैंकहरूले भने आधार दर (बेस रेट) मा भएको परिवर्तनअनुसार कर्जाको ब्याज पनि परिमार्जन गरिने बताएका छन् । बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा लिइने आधार ‘बेस रेट’ हो । यसले निक्षेप संकलन तथा व्यवस्थापन गर्दा लागेको बैंकको लागत देखाउँछ । सामान्यतया बेस रेटभन्दा कम ब्याजदरमा बैंकहरूले कर्जा प्रवाह गर्न पाउँदैनन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक तीन/तीन महिनामा लागतमा आएको परिवर्तनका आधारमा ‘बेस रेट’ गणना गर्नुपर्छ । ‘बेस रेट’ मा भएको घटबढका आधारमा बैंकले कर्जा (नयाँ–पुराना सबै) को ब्याजदर पनि घटाउने/बढाउने गर्नुपर्छ । निर्देशनअनुसार बैंकहरूले हरेक त्रैमासमा बेस रेट गणना गरी कर्जाको ब्याजदर परिमार्जन गर्दै आएका छन् । परिमार्जनपछि बेस रेट बढेमा बैंकहरूले सबै (नयाँ–पुराना) कर्जाको ब्याजदर पनि बढाउँछन् । तर बेस रेट घटे अपवादबाहेक सबै बैंकले पुराना कर्जाको ब्याज नघटाई नयाँ कर्जालाई मात्र सस्तोमा ऋण दिँदै आएका थिए । आधार दरबारे बुझेका केही ऋणी बैंकमा गएर ब्याज घटाउन आग्रह गरे निवेदन लेख्न लगाएर थोरै मात्र घटाइदिन्थे ।

ब्याजदर बढ्दा एउटा एसएमएसकै भरमा पुराना ऋणको ब्याज पनि बढाउने तर पुरानाको ब्याजदर नघटाई नयाँ ऋणमा मात्र कम ब्याज लिने गर्थे । यही कारण बैंकहरूको आलोचना हुँदै आएको थियो । यस पटक भने वाणिज्य बैंकहरूले सूचना नै जारी गरेर सबै ऋणीका लागि ब्याजदर घटाउन लागेका हुन् ।

यसका लागि बैंकहरूले नयाँ ब्याजदर प्रकाशन गर्दा जेठदेखि ऋणको ब्याजदर पनि घटाउने सूचना पनि सँगै राखेका छन् । ‘यस बैंकले ०७६ चैतको आधार दरअनुसार ०७७ वैशाखमा कर्जाको ब्याजदर समायोजन गर्ने तथा ऋणीलाई राहत प्रदान गर्ने उद्देश्यले एक पटकमा लागि ०७७ वैशाखको आधार दरअनुरूप जेठ पहिलो हप्तादेखि लागू हुने गरी स्वदेशी मुद्रामा प्रदान गरिएका सम्पूर्ण कर्जाको ब्याजदर घटाइनेछ,’ बैंकहरूले प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘तत्पश्चात् प्रत्येक त्रैमासको समाप्तिपछि यथावत् रूपमा आधार दरमा आएको परिवर्तनअनुरूप ब्याजदर समायोजन गरिनेछ ।’

बैंकहरूले निक्षेपको ब्याजदर घटाइसकेकाले आधार दरमा आएको परिवर्तनअनुरूप जेठदेखि कर्जाको ब्याजदर घट्ने बैंकर्स संघले जनाएको छ । ‘बैंकअनुसार औसतमा ०.४ देखि ०.७ प्रतिशत बिन्दुका दरले ऋण ब्याजदर घट्न सक्छ,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘बैंकहरूमा रहेको संस्थागत मुद्दती निक्षेप र तिनको परिपक्वता अवधिका आधारमा बैंकअनुसार फरकफरक दरले ब्याज हुन सक्छ ।’

कोरोनाको संक्रमणकालीन अवस्थामा ऋणीलाई राहत दिने उद्देश्यले एक पटकका लागि महिना दिनमै बेस रेट परिमार्जन गरी ऋणको ब्याज घटाउन लागिएको उनले बताए । ‘यसपालि बैंक आफैंले जेठ १ देखि ब्याज घट्यो है भनेर सूचना जारी गर्नेछन्,’ दाहालले भने । वाणिज्य बैंकहरूले वैशाख १ देखि निक्षेपको ब्याजदर १ देखि डेढ प्रतिशतसम्मले घटाएका छन् । वित्तीय प्रणालीमा तरलताको अवस्था सहज रहेको, ऋण प्रवाह सुस्त भएको, बैंक दर (बैंकहरूले राष्ट्र बैंकबाट कर्जा लिँदा तिर्नुपर्ने ब्याजदर) घटेको लगायत कारण बैंकहरूले निक्षेपको ब्याज घटाउने निर्णय गरेका हुन् ।

वैशाख १ देखि लागू हुने गरी बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा ७ प्रतिशत, संस्थागत निक्षेप नवीकरण गर्दा ७.१ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यो ब्याजदरमा बैंकहरूले संस्थालाई १ प्रतिशत र व्यक्तिलाई ०.५ प्रतिशत ब्याज बढाएर दिन पाउँछन्।

वैशाखदेखि साधारण निक्षेपमा व्यक्तिले न्यूनतम ५.५ प्रतिशत ब्याज प्रदान गर्नुपर्नेछ । राष्ट्र बैंकले हालै घटाएको बैंक रेटसँग समायोजन हुने गरी साधारण निक्षेपको ब्याजदर तय गरिएको हो । कोभिड–१९ को जोखिमका बेला बैंकहरूले विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेका छन् । विद्युतीय भुक्तानीको कारोबार सीमा बढाइएको छ भने जुन बैंकको एटीएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यसअघि अर्थ मन्त्रालय र राष्ट्र बैंकको निर्देशनमा संघले बैंकहरूबीच निक्षेपको ब्याजदरमा ‘भद्र सहमति’ गरेका थिए । यसअनुसार बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा बढीमा ८.५ प्रतिशत र संस्थागत मुद्दती निक्षेप नवीकरणमा ८.६ ब्याज दिन पाइन्छ । यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा बढीमा ९.२५ प्रतिशत ब्याज दिन पाइन्छ । यो बैंकहरूले मासिक रूपमा प्रकाशित गर्ने दर हो । यो दरमा संस्थाका लागि बैंकले १ प्रतिशत र व्यक्तिका लागि ०.५ प्रतिशत ब्याज बढाएर दिन पाइन्छ ।

विगतमा तरलता अभाव रहेका बेला बैंकहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले ब्याजदरमा ‘भद्र सहमति’ गरेको थियो । त्यसपछि पटकपटक ब्याजदर घटाइए पनि भद्र सहमति तोडिएको छैन । गत माघसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ९.४५ प्रतिशत छ । ०७५ माघमा यस्तो दर ९.६९ प्रतिशत थियो ।

०७६ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७८ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा आधार दर ६.६७ र भारित औसत ब्याजदर १२.३४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

 

Ad