बैंकिङ खबर । विश्वका अधिकांश निम्न र मध्यम आय भएका मुलुकहरु कोरोना संक्रमणको सुरुवाती अवस्थामा छन् र प्रभाव भने महशूस भइसकेको छ । इथियोपिया र यमनको स्वास्थ्य प्रणाली दबाबमा छन् भने हाइटी र मंगोलियामा मेडिकल स्टाफको खाँचो भइरहेको छ । पाकिस्तानका लाखौँ बालबालिकाहरु स्कुल जान पाइरहेका छैनन् रिमोट लर्निङका उपायहरुको आवश्यकता महशूस भइरहेको छ । समग्रमा भन्नुपर्दा, कोरोना भाइरसले निम्त्याएको जोखिम लाखौँको संख्यामा रहेका गरिब मानिस वा भर्खर गरिबीबाट माथि उठेका मानिसहरुमा बढी रहेको छ ।
विश्व बैंक ग्रुप यस्ता देशहरुमा हुन कोरोना भाइरस जोखिम र त्यसबाट पर्ने दीर्घकालीन प्रभावको नियन्त्रणका लागि खटिरहेको छ । हालै विश्भर आकस्मिक सहयोग प्रदान गर्नका लागि कार्यक्रमहरु संचालन गर्न बैंकको बोर्डले स्वीकृति प्रदान गरिसकेको छ । कोरोना भाइरसले फैलाएको जोखिम न्युनीकरणका कारण विश्व बैंकले आगामी १५ महिनामा १६० विलियन डलर खर्च गर्ने जनाएको छ । यो सहयोग गरिब र विपन्नहरुलाई सुरक्षा दिने, व्यवसायहरुलाई सहयोग गर्ने र आर्थिक सुधार गर्ने कार्यमा खर्च गर्ने विश्व बैंकको योजना छ ।
विश्व बैंकसँग सम्बन्धित संस्थाहरुले खेल्ने भुमिकाको चर्चा गर्दै विश्व बैंकका प्रेजिडेन्ट डेभिड माल्पसले भने, गरिब र विपन्न देशहरुमा गम्भीर प्रभाव पर्ने देखिन्छ । कोरोना फैलिन नदिन विश्व बैंक ग्रुपले द्रुत कार्य गरिरहेको छ । ६५ देशमा हाम्रो हेल्थ रेसपोन्स अपरेसन्स संचालन भइरहेका छन् ।
२५ देशमा तत्काल सहयोग गर्नका लागि विश्व बैंक्ले १.९ विलियन डलर छुट्याएको छ । आकस्मिक राहत र सुधारका लागि तत्काल १.७ विलियन डलर थप गर्ने तयारी पनि भइरहेको छ । यसअन्तर्गत पुनर्संरचना र प्रोजेक्टको इमर्जेन्सी कम्पोनेन्टको प्रयोगका साथै महामारीका लागि डिजाइन गरिएका वित्तीय उपकरणहरुको प्रयोग समावेश गरिएका छन् ।
यस प्रथम प्रयास कोभिड १९ को तत्कालीन चुनौतीको सामना गर्नका लागि स्वास्थ्य प्रणालीमा गरिने सहयोगमा केन्द्रित छ । उदाहरणका लागि अफगानिस्तान र हाइटीदेखि भारत, मंगोलिया र ताजकिस्तानसम्मका देशमा थप तालिमप्राप्त मेडिकल स्टाफ उपलब्ध गराइनेछ भनृ इक्वेडर र किर्गिज रिपब्लिक जस्ता देशमा कोरोना फैलिन नदिने र सर्वसाधारणमा जनचेतना फैलाउने कार्य गरिनेछ । जिबुटी, इथियोपिया र यमनमा थप सहयोगमार्फत कोरोनाको दीर्घकालीन असर कम गरी राष्ट्रिय स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धिमा सहयोग गरिनेछ ।
विश्व बैंकको सहयोगमार्फत डेमोक्रेटिक रिपब्लिक अफ कंगोले भाइरसको पूर्वपरीक्षणका साथै फैलिन नदिन अपनाइने सुरक्षात्मक उपाय र ठूला ठूला सार्वजनिक सूचनाका कार्यक्रमहरु संचालन गरिरहेको छ । त्यस्तै, मूख्य प्राथमिक उपचारका सुविधाहरु उपलब्ध गराउन पनि सहयोग परिचालन गर्ने विश्व बैंकको योजना छ ।
पाकिस्तानमा विब्व बैंकको सपोर्ट स्कुल जान नपाएका ५० मिलियन बालबालिकालाई रिमोट लर्निङ उपलब्ध गराउनका साथै छ महिनासम्म लक डाउनमा परेका ४० हजार सर्वसाधारलाई आधारभूत खाद्यान्न उपलब्ध गराउनमा केन्द्रित गरिएको छ । त्यस्तै, क्वारेन्टाइनमा रहेका परिवारमा हुन सक्ने लैंगिक हिंसाका घटना हुन नदिने कार्यमा लाग्न स्वास्थ्य कर्मीहरुलाई तालिम पनि प्रदान गर्ने विश्व बैंकले जनाएको छ ।
इमर्जेन्सी फाइनान्सिङका लागि विश्व बैंक ग्रुपअन्तर्गतको आईएफसीले ८ विलियन डलर परिचालन गरी निजी क्षेत्रलाई सहयोग गर्नेछ । विशेष गरी रोजगारी बढाउनका लागि ट्रेड फाइनान्स र क्यापिटल लाइनहरुको दायरा विस्तार गर्ने र साना व्यवसायहरुमा फोकस गर्ने आईएफसीको योजना रहेको छ । सरकार र निजी कम्पनीहरुलाई प्रत्यक्ष सहयोगका अलावा विश्व बैंक ग्रुपले ग्लोबल सप्लाई चेनहरुको परिचालनमार्फत मेडिकल सप्लाईलाई सुचारु राख्नमा सहयोग गरिरहेको छ ।
ग्रुको १६० विलियन डलर बराबरको १५ महिने योजना अन्तर्गत सुरुमा मिगाले ६ विलियन डलरको कर्जा सुरक्षण प्रदान गर्नेछ । यसले सरकारले अत्यावश्यक मेडिकल उपकरणहरु खरिद गर्ने र साना व्यवसायहरु सुचारु राख्ने कार्यमा सहजता ल्याउनुका साथै सरकारले तत्कालीन पुँजी मागलाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
वित्तीय र वृहत प्राविधिक सहयोगमार्फत विश्व बैंकले कोरोनाको त्रासबाट छोटो समयमा बाहिर निस्किएर आगामी सुधारका कार्यमा केन्द्रित हुनका लागि सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने अपेक्षा गरेको छ । कोभिड १९को सामना गर्ने प्रयासहरुमध्ये, विश्व बैंकको फोकस गरिब र विपन्न मुलुकहरुलाई सर्वसाधारलाई सुरक्षा प्रदान गरी अवसरहरु पुनःउत्पादन गनेतर्फ रहेको छ ।