ग्राहकलाई ब्याजको १० प्रतिशत रकम फिर्ता दिँदा बैंकहरूको आम्दानी घट्ने भए पनि अप्ठ्यारो परिस्थितिमा सरकारले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न बैंकहरू प्रतिबद्ध रहेको उनले बताए । ‘बैंकहरूले नाफा मात्र हेर्दैनन्, परेको बेला नाफा घटाएर भए पनि योगदान गर्छन्,’ उनले भने ।
चैतभित्र किस्ता तिर्ने ग्राहकलाई ब्याज छुट दिने निर्देशन पूर्ण रूपमा पालना भएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘ब्याज छुट दिए, नदिएको बारे राष्ट्र बैंकले सूक्ष्म रूपमा नियमन गरिरहेको छ,’ उनले भने, ‘पछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई बुझाउने विवरणमा पनि त्यो देखिन्छ ।’
बैंक तथा वित्तीय संस्थाले सबै ग्राहकलाई (ब्याज छुटबारे जानकारी पाए/नपाएका) उक्त सुविधा दिनुपर्ने उनले बताए । संक्रमणको समयमा पनि नियमित किस्ता तिर्ने क्षमता भएका ऋणीलाई प्रोत्साहन गर्न गरिएको यो व्यवस्थाले बैंकको ऋण असुलीमा सहयोग पुग्ने उनको भनाइ छ ।
कोरोना संक्रमणको अवस्था भन्दै सरकारको निर्णयबमोजिम राष्ट्र बैंकले चैतसम्म भुक्तानी गर्नुपर्ने किस्ताको म्याद आउँदो असारसम्म थपेको छ । यो व्यवस्थाअनुसार चैतमा तिर्नुपर्ने किस्ता असारसम्म तिर्दा पनि अतिरिक्त शुल्क लाग्दैन । तर जसले किस्ता तिर्न सक्छ, उसलाई पनि केही फाइदा होस् भनेर सरकारले १० प्रतिशत ब्याज छुटको निर्णय गरेको हो ।
यसरी चैतसम्म भुक्तानी हुनुपर्ने साँवाब्याज कति छ भन्ने यकिन नभए पनि चैत मसान्त मासिक/त्रैमासिक किस्ता भुक्तानीको समय भएकाले छुट दिने १० प्रतिशत रकम धेरै हुने बैंकरहरूको दाबी छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
