Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थतन्त्रमा कोरोना प्रभाव : आर्थिक वृद्धि ४.३ प्रतिशत मात्रै, अर्थतन्त्रमा डेढ खर्बसम्म क्षति हुन सक्ने

२०७६ चैत्र २३ गते

कोरोना भाइरस (कोभिड–१९) महामारीले नेपालको आर्थिक वृद्धिमा निकै ठूलो धक्का दिने भएको छ । विश्वव्यापी कोरोना महामारीले सेवा, पर्यटन र उद्योग क्षेत्रलाई शिथिल बनाएपछि वृद्धिदर खुम्चिने भएको हो । एसियाली विकास बैंक (एडिबी)ले चालू आर्थिक वर्षमा नेपालको वृद्धिदर ४.३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर, बजेट कार्यान्वयनको अवस्था कमजोर हुँदा उक्त लक्ष्य हासिल नहुने यसअघि नै प्रक्षेपण आउन थालेको थियो । विश्वव्यापी कोरोना महामारीले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्यभन्दा ४.२ बिन्दु प्रतिशतले घट्ने एडिबीको प्रक्षेपण छ । यद्यपि, सरकारले घोषणा गरेको लकडाउन २५ चैतमै सकियो र स्थिति थप बिग्रेन भने ५ दशमलव ३ प्रतिशतसम्मको आर्थिक वृद्धि हुन सक्ने पनि एडिबीले जनाएको छ । 

कोरोना महामारी र नेपालमा २४ मार्चदेखि ७ अप्रिलसम्मका लागि तोकिएको लकडाउनबाट मुख्य गरी उद्योग, निर्माण र सेवा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, रेमिट्यान्स पनि उल्लेखनीय दरमा घटेको छ । यसले नेपालको वृद्धिदरलाई घटाउने भएको एडिबीको रिपोर्टमा उल्लेख छ । 

एडिबीले आगामी आर्थिक वर्ष ०७७/७८ मा पनि गत आवको भन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीकै प्रभावका कारण आगामी आवमा पनि आर्थिक वृद्धि ६.४ प्रतिशत मात्रै हुने एडिबीले उल्लेख गरेको छ ।

कोरोना मात्रै होइन वृद्धिदर खुम्चिनुको कारण

एडिबीले लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल नहुने प्रक्षेपणका पछाडि कोरोना मात्रै कारक नभएको उल्लेख गरेको छ । फितलो बजेट कार्यान्वयन तथा कृषि उब्जनी घट्नुले पनि वृद्धिदर खुम्चिने भएको एडिबीले जनाएको छ । ढिला गरी सुरु भएको मनसुन, बाढी, बाली नष्ट गर्ने किरालगायत कारणले कृषि उब्जनी घटाउने भएकाले पनि आर्थिक वृद्धिमा असर पर्ने भएको हो । त्यस्तै, एडिबीले फितलो बजेट कार्यान्वयनलाई पनि वृद्धिदर खुम्चिन सक्ने कारक मानेको छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा नेपालले ७.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । कृषि उब्जनी, पर्यटक आगमन, रेमिट्यान्स र निजी क्षेत्रतर्फको लगानी बढेसँगै उक्त वर्ष नेपालले उच्च वृद्धिदर हासिल गरेको थियो । सरकारले चालू आवमा अघिल्लो आवको भन्दा झन्डै साढे १ बिन्दु प्रतिशतले वृद्धिदर बढ्ने लक्ष्य राखेको थियो । तर, कोरोना प्रभाव, कृषिको उब्जनी घट्ने तथा बजेटको कार्यान्वयन फितलो हुनुले लक्ष्यअनुसारको वृद्धि भेट्न नसकिने भएको हो । 

मूल्यवृद्धि ६ प्रतिशतमै रहने 

एडिबीले आर्थिक वृद्धिदर घटे पनि मूल्यवृद्धिदर भने सरकारले लिएको लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको छ । बजारमा अहिल्यै खाद्य पदार्थ, तरकारीलगायतको मूल्य उच्चदरमा बढेको भए पनि चालू आवमा मूल्यवृद्धिदर भने सरकारले लिएको लक्ष्यअनुसारकै ६ प्रतिशतमा रहने एडिबीले उल्लेख गरेको छ । गत आवमा नेपालमा मूल्यवृद्धिदर ४.६ प्रतिशत थियो । आगामी आवमा भने मूल्यवृद्धि ५.५ प्रतिशत हुने एडिबीले उल्लेख गरेको छ । 

कोरोनाबाट साढे १ खर्ब ५० अर्बसम्म क्षति हुन सक्ने 

नेपालमा कोरोना महामारी अझ बढ्दै गएर यही ठूलो आउटब्रेक भयो भने त्यसबाट १ खर्ब ५० अर्ब रुपैयाँबराबरको क्षति हुन सक्ने देखिएको छ । एडिबीले नेपालको गत आवको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)लाई आधार मानेर सोको ४.८७ प्रतिशतसम्म क्षति पुग्न सक्ने अनुमान गरेको हो । गत आवमा नेपालको जिडिपी आकार ३० खर्ब ३१ अर्ब रुपैयाँको थियो । जसअनुसार कोरोनाबाट नेपालमा १ खर्ब ४८ अर्ब रुपैयाँ क्षति पुग्न सक्ने देखिन्छ । 

यद्यपि, कोरोनाको सुरुवाती प्रभावबाट भने जिडिपीको न्यूनतम १ प्रतिशत अर्थात् ३० अर्ब रुपैयाँको क्षति पुग्ने अनुमान एडिबीको छ । तर, महामारी फैलिएर व्यापक भएमा भने जिडिपीको १.७५ प्रतिशतदेखि ४.८७ प्रतिशतसम्म क्षति पुग्ने एडिबीले जनाएको छ । अर्थात्, यस्तो अवस्थामा कोरोनाबाट नेपालमा ५० अर्ब ४ करोड रुपैयाँदेखि १ खर्ब ४८ अर्ब रुपैयाँसम्मको क्षति पुग्न सक्छ । कोरोनाबाट सबैभन्दा बढी होटेल तथा रेस्टुरेन्ट क्षेत्रको उत्पादनको ८ प्रतिशतसम्म क्षति हुनेछ । 

१० लाख रोजगारी गुम्न सक्ने 

कोरोनाको प्रभाव ठूलो हुँदा नेपालमा मात्रै १० लाख रोजगारी गुम्न सक्ने प्रक्षेपण पनि एडिबीले गरेको छ । लकडाउन तत्कालै खुलेर काम सुरु भइहाल्यो भने ४८ हजार रोजगारी गुम्ने र यसको प्रभाव लम्बिँदै गएर ठूलो मात्रामा कोरोना संक्रमण मुलुकमा फैलियो भने त्यसले ९ लाख ९७ हजारसम्म रोजगारी गुम्न सक्ने प्रक्षेपण एडिबीको छ ।  

विश्वमा ४५ खर्ब अमेरिकी डलरको क्षति

कोरोना महामारीबाट विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को २.३ देखि ४.८ प्रतिशतसम्मको क्षति हुन सक्ने एडिबीको अध्ययनले देखाएको छ । जसअनुसार कोरोनाबाट विश्वमा न्यूनतम २० खर्ब १३ अर्ब अमेरिकी डलरदेखि ४० खर्ब ९० अर्ब ८० करोड अमेरिकी डलरबराबरको क्षति हुनेछ । त्यस्तै, विकासशील एसियामा (चीनबाहेक) जिडिपीको १ प्रतिशतदेखि २.२ प्रतिशतसम्म क्षति पुग्नेछ । अर्थात्, एसियामा कोरोनाबाट ९३ अर्ब ३० करोड अमेरिकी डलरदेखि ६ खर्ब ९१ अर्ब ६ करोड अमेरिकी डलरसम्मको क्षति पुग्ने एडिबीको प्रक्षेपण रहेको छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

Ad