२०७६ चैत्र २१ गते

महाकाली पारी आँसु बग्दैछन् देश सम्झेर, सिंहदरबार लुट्ने मौका कुरीरहेको छ !

रक्षा ढुंगाना / विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले युरो जोनको तेस्रो ठुलो अर्थव्यवस्था बोकेको इटालीको अर्थव्यवस्था अहिले पूर्ण रूपमा खराब स्थितिमा रहेको छ । इटालीमा हजारौंको मृत्यु भएको छ भने संक्रमणमा बाँच्नेहरूले आर्थिक समस्याहरूको बिचमा नयाँ जीवनको खोजी गरिरहेका छन् । इटाली जहाँ यस आपतकालिन घडिलाई युरोपेली अधिकारीहरूले धेरै गम्भीरतापूर्वक लिइरहेका छन् भन्नेमा कुनै शंका छैन । इटालीका प्रधानमन्त्री ज्युसेप्पी कोन्ट आफ्ना जनतालाइ बचाउन नसकेको र आफ्नो देशको “सबैभन्दा अन्धकारमय घडी भन्दै दिन रात रोइरहेका छन् । यसबाट प्रष्ट हुन्छ कि पैसा शक्ति नै सबै कुरा हैन रहेछ भनेर ।

धेरै वर्ष अघि हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले भनेको एउटा भनाई “हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दि मनले भन्ने कुरा चरितार्थ भए सँँगै अहिले सारा विश्वका मानिस सन्त्रासमा छन् । जसले आनन्दित जीवन बांच्न खोजिरहेको तथा यसको लागी विश्वले आफ्ना सारा सम्पत्ति दाउमा लाउन समेत पछि नपरेको अवस्था छ । संगै यही समाजमा नेपालमा भने एउटा बर्गलाई अहिलेको अवस्था धेरै फाइदाजनक साबित भएको छ । विश्वलाई कोरोनाले ग्रस्त बनाइरहेको बेला नेपाल सरकारका केही व्यक्तिलाई कोरोनाले भ्रस्ट बनाइरहेको छ । विश्व अहिले यस्तो कारुणीक अवस्थामा प्रवेश गरेको छ । हरेक देशका नेताले आफ्ना जनताको रक्षा गर्ने बेला आएको छ । तर यहाँ ‘मलाई मृत्यु नै आउँदैन अजम्बरी नै पाएर आएको छु भन्ने जसरी ‘यहि बेला हो सम्पत्ति कमाउने भन्ने सोँचाइ सरकारका केही व्यक्तिमा बढेको छ ।’

यस्तो महामारी विपत्तको घडिलाई समेत स्वास्थ्य जस्तो संवेदनशिल वस्तुको उपकरण खरिदमा अनियमितता गर्नु र आफू निकटका व्यापारीलाई रातोरात सेटिङ् मिलाउनु बाणिज्य विभागमा दर्ता नै नभएको कम्पनीको कोटेसन स्विकृत गर्नु, बजार भाउ भन्दा चार गुणा महंगो सामान खरिद गरी केही नेताले कमाई खाने भाडो बनाउदा पक्कै पनि यो अपराध अक्षम्य हुुनेछ । अरु देशका उच्च पदमा रहेका उत्तराधिहरुको आपनो देशप्रतिको माया सामाजिक सञ्जालमा देख्दा र नेपालका उच्च पदमा रहेका उत्तराधिहरुले यस्तो समवेदनशिल अवस्थामा पनि जनताको करबाट खरिद गरिएको स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितता गरी देश तथा जनताको मुखमा पुग्न पर्ने तथा भोलीको दिनमा आफ्नै पनि मुखमा पुग्न पर्ने औसधी मा भ्रष्टाचार गर्न खोजेको कुरा छताछुल्ल भइसकेको छ । जनता जसले चुनावको बेला दुर देखि घाम पानी नभनि गाडिको छतमा चढेर सुनौलो नेपालको भविश्य कल्पना गरेर भोट हालेका थिए । तर अहिलेको अबस्था देखेर जनताहरु आफैप्रति खेद व्यक्त गरीरहेका छन् । जो नेताहरु अहिले जनताको कांधमा टेकेर जनतालाई नै लात मारेर विपत्तिको बेला समेत भ्रष्ट्राचारको आहालमा ढुवेका छन् । उच्च पदमा पुगेर भ्रष्टाचार गर्ने पदाधिकारीले यो अवश्य बुझ्न जरुरी छ कि यदि ती जनताले भोट नदिएका भए तिनीहरु अहिले अरु जस्तै आम नागरिक नै हुन । यदि उनिहरु आम नागरिक भएर बसेको बेला तिनिहरुलार्इ यस्तो अवस्था आउँदा कस्तो हुुन्थ्यो भनेर के सोचेका होलान् त ? उच्च पदमा पुग्दा सपथ खाएको अनि म जनताको हितमा काम गर्छु भनेर अघि बढेको व्यक्तिले जनताको हितमा काम गरेको यही हो त ?

सारा देश छोडेर, परिवार छोडेर विदेश गएर रोजगारी गरी रेमिट्यान्स भित्राएका महाकाली पारीका नेपालीहरु अहिले न यताका न उताका भएर बाँच्नुपरेको अबस्था छ । जननी जन्म भूमिस्च स्वर्गदपी गरियसी भनेझैं आपत विपत तथा दुखको घडिमा जन्मभुमी सम्झनु जन्मभुमी आउन पाउनु उनिहरुको नैसर्गिक अधिकार समेत कटौती भएको छ । रेमिट्यान्स भित्रयाउने साधन र भोट दिने मेसिनको रुपमा मात्र ति सोझा जनतालाई प्रयोग नगरीयोस्, जति अनियमिता गर्न रातारात दिमाग खर्चिएका छौ त्यसको एक छेउ पनि मानवियता देखाएर भारतबाट सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने पहल तथा कुटनैतिक वार्तामा खर्चेको भए अहिले गरेको भ्रष्टाचार भन्दा करोडौ गुणा बढि जनताको विश्वास जित्थ्यौ होला । रगत पसिना खर्चेर बनाएको नेपालको संविधान जहा नेपाली नागरिकको हक निर्दिष्ट गरिएको छ रं भनिएको छ नेपाली नागरिकलाइ कुनै पनि हालतमा देश निकाला गर्न पाइने छैन तथा नेपाली नागरिकलाइ नेपाल प्रवेश गर्न रोक समेत लाइने छैन भनेर । तर जनताको बलिदानबाट बनेको संविधानको हक भनेको कागजमा मात्र सिमित भयो । हैन भने देशमा आउदै गर्दाउनीहरुलाई सिमानापारी किन रोकियो । कंचनपुर नाकामा रहेका महाकाली पारीबाट आंखाभरी आंशु पार्दै आफ्नो देश जान पाइएला कि भनेर सेकेण्ड सेकेण्डमा आशाको त्यान्द्रा बुनिरहेका नेपालीले न्याय पाएका छैनन् । अहिले अरेक राजनीतिक दल र आम नेपाली एकजुट भएर हातेमालो गर्ने बेलामा भ्रष्टाचार गर्ने नेतालाई कसले कार्बाही गर्ने ? बेचैन भएर कोरोना संक्रमण हुनेको समस्या, लकडाउनको समस्याले साँझ विहान खान नपाउनेको अर्को समस्या । सरकार तिमी छौ कहाँ ? नेता तिमि गर्दैछौं के ?