सरकारले आगामी साउनदेखि धितोपत्र दलाल (स्टक ब्रोकर)को कमिसन साउनदेखि घट्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै हाल यस्ता दलालहरुले पाउँदै आएको कमिसनको करिब ४० प्रतिशतसम्म घटाउने तयारी भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकरको कमिशन घटाउने गरी धितोपत्र विनियमावलीलाई अन्तिम अवस्थामा पुर्याइसकेको बताइएको छ । हाल धितोपत्र (सेयर) को कारोबार सेयर ब्रोकरबाट मात्रै गर्नुपर्ने कानूनी व्यवस्था छ ।
धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीका अनुसार नेपालका सेयर दलालहरुले लिँदै आएको कमिसन दक्षिण एसियामै सबैभन्दा बढी हो । हाल ब्रोकरहरुले ५० हजारसम्मका लागि १ प्रतिशत, ५० हजार १ देखि ५ लाखसम्मका लागि ०.९ प्रतिशत, ५ लाख १ देखि २० लाखसम्मका लागि ०.८ प्रतिशत र १० लाख १ देखि माथिका लागि ०.७ प्रतिशत कमिसन पाउँदै आएका छन् ।


