सरकारले सुनको दिनहुँ आयात गरिने कोटालाई १० किलोमा झारेको छ । मन्त्रिपरिषद बैठकले आइतबार आयात कोटा २० किलोबाट घटाएर १० किलोमा गर्ने निर्णय गरेको हो ।
‘सुनको पैठारी दैनिक २० किलो सुविधा दिइराखिएकोमा त्यसलाई १० किलोमा झारिएको छ,’ सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले भने।
सुन आयात गर्न नेपाल राष्ट्र बैकले वाणिज्य बैकहरूलाई मात्रै अनुमति दिएको छ। हाल मुलुकमा २६ वटा वाणिज्य बैक छन्। वाणिज्य बैकले आयात गरेको सुन नेपाल सुनचादी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफारिसमा बिक्री गरिन्छ।
व्यवसायीका अनुसार सुनको दैनिक माग करिब २५ किलो छ। चाडबाड र बिहेको सिजनमा माग दोब्बर हुन्छ। माग बढेपछि व्यवसायीले कोटा बढाउन दबाब दिँदै आएका छन। अहिले सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेपछि कारोबार सुस्त भएको व्यवसायी बताउँछन्। सरकारले लकडाउनको घोषणा गरेसँगै सुन पसल पनि बन्द छन्।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।