Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रेमिट्यान्समा अत्याधिक गिरावट आउन सक्ने, नेपालको अर्थतन्त्रमा ठुलो धक्का

२०७६ चैत्र १२ गते

बैंकिङ खबर । नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ढाकेको छ । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको भन्ने गरिन्छ । नेपालको वाह्य क्षेत्र सन्तुलनको प्रमुख आधारको रुपमा विप्रेषण आप्रवाह रहँदै आएको छ । विगत दशवर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसंगको औसत अनुपात २५ प्रतिशत रहेको छ । नेपालको गरिबी न्यूनीकरण लगायत सामाजिक एवम् मानवविकास सूचकाङ्कमा भएको उल्लेख्य सुधारमा समेत वैदेशिक रोजगारीमा गएकाहरुको आर्जनको महत्वपूर्ण योगदान रहेको छ ।

रोजगारीमा जाने कामदारमध्ये अधिकांस खाडी मुलुकतर्फ गएका छन् । नेपालमा भित्रिने आधा रेमिट्यान्स खाडी मुलुकहरुबाटै भित्रिन्छ । विप्रेषणलाई राष्ट्रिय पुँजी निर्माणको क्षेत्रमा उपयोग गर्दै विप्रेषण आप्रवाहमा आउन सक्ने कमीले अर्थतन्त्रमा पर्ने प्रभावको नियमित आँकलन र वाह्य क्षेत्र सन्तुलनको बैकल्पिक आधारको विस्तार उत्तिकै महत्वपूर्ण रहेको छ । यद्यपि, केही महिनायता विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालको रेमिट्यान्समा ठूलो धक्का पुग्ने भएको छ ।

रेमिट्यान्स आप्रवाहमा कोरोनाको असर देखिन थालिसकेको छ । हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरु (कतार, यू.ए.ई., जापान, दक्षिणकोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीयश्रम सम्झौता गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ । यी सबै देशहरु अहिले कोरोनाको संक्रमणको अवस्थामा छन् । जसकारण आर्थिक गतिवधिहरु संचालन हुन सकेका छैनन् भने कामदारहरु काममा जाने अवस्था छैन ।

कामदार भिसामा अधिकांश नेपालीहरु गएका खाडीमुलुकहरु पनि कोरोनाको प्रभावबाट बच्न सकेका छैनन् । धेरै नेपाली कामदारको उपस्थिती रहेको मलेशियामा हालसम्म १६२४ जना संक्रमण देखिएको छ भने १५ जनाको मृत्यु भएको छ । त्यस्तै, कतारमा ५०१ जनामा, साउदी अरेबियामा ७६७, युएईमा १९८ जनामा र कुवेतमा १९१ जनामा संक्रमण देखिएको छ भने अझै बढ्ने क्रममा रहेको छ । अन्य देशहरुमा पनि उत्तिकै संक्रमण फैलिएको छ । सबै देशमा व्यापार, व्यवसाय, उद्योग धन्दाहरु बन्दगरि होम क्वारेन्टाइनमा बस्ने अवस्था रहेको छ । जसकारण लाखौँको संख्यामा रोजगारीका लागि गएका नेपाली बेरोजगार बस्नु परिरहेका कारण नेपालमा रेमिट्यान्स पठाउने अवस्था छैन ।

नेपाल राष्ट्र बैंकको माघसम्मको रिपोर्टमा रेमिटयान्स प्रभावित हुन थालेको देखिसकिएको छ । रेमिट्यान्स आप्रवाह घट्ने क्रममा देखिएको छ । त्यस पछिका दिनमा झन् प्रभावित भएका कारण रेमिट्यान्स आप्रवाहमा ठूलो प्रभाव पर्न गई अन्ततः नेपालको अर्थतन्त्र नै भयावह अवस्थामा पुग्ने देखिएको छ ।

Ad